बनेपा (भ्वतः) सांस्कृतिक महोत्सव सम्पन्न

  माघ ०१, २०७९

काभ्रेपलाञ्चोक, माघ १ : प्राचीन सहर बनेपा (भ्वतः) को ऐतिहासिकतालाई महत्त्व दिने उद्देश्यले आज आयोजित सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । बनेपा नगरपालिका र काभे्र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय युवा उद्यमी मञ्चले महोत्सवको आयोजना गरेको हो ।

महोत्सवका अवसरमा बिहान सांस्कृतिक बाजागाजा, नाचसहित बनेपा नगरमा ¥यालीको आयोजना गरिएको थियो । ¥यालीपश्चात लायकू मञ्चमा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादेले महोत्सवको उद्घाटन गर्दै सांस्कृतिक महोत्सवले प्राचीन सम्पदाको जगेर्ना र संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले प्राचीन बनेपा ऐतिहासिक सम्पदाको थलो भएकाले पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले सम्पदाप्रेमीलाई बनेपा भ्रमण गर्नसमेत आग्रह गर्नुभएको छ । महोत्सवले बनेपालाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गराउने आधारशिलाका रूपमा रहने शाक्यले विश्वास व्यक्त गर्नुभएको थियो ।

यहाँका दरबार चोक र मन्दिरका आआफ्नै महत्त्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश विदेशमा चिनाउन महोत्सवको आयोजना गरिएको मञ्चका अध्यक्ष सरोजकाजी श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा लायकू दरबारमा सांस्कृतिक बाजागाजा, लायकू डबली र चोकमा सांस्कृतिक नाचगान, पोखरी गल्ली चोकमा बनेपा चिनाउने ऐतिहासिक फोटो प्रदर्शनी गरिएको थियो ।

यस्तै हरेक चोक, टोलमा नेवारी खानाको स्टलसँगै बनेपा चिनाउने पुस्तक, बहिबहमा रञ्जना लिपि लेखन, थानपति मन्दिरमा बाखः न्यनेगू (कथा सुनाउने कार्यक्रम) आयोजना गरियो ।

स्थानीय उत्पादनको प्रर्दशनीसँगै पोटे गुठीमा नेवाः सुकुल भोजको आयोजना गरिएको थियो भने चोक तथा डबलीमा मौलिक एवं परम्परागत सामग्री प्रदर्शनीमा राखिएको थियो ।

बनेपा सहरको पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरी जङ्गल, उत्तरमा थांगू जङ्गल र दक्षिणमा क्वःगु जङ्गलको पृष्ठभूमिमा रहेको छ ।

काठमाडौँबाट २५ किलोमिटरको दूरीमा अवस्थित ऐतिहासिक सहर बनेपा समुद्री सतहदेखि चार हजार आठ सय फिट उचाइमा रहेको सानो रमणीय उपत्यका हो । काभ्रेपलाञ्चोक मात्रै नभएर पूर्वी नेपाल आउनेजाने ढोकाको रूपमा परिचित छ बनेपा ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार नेपालभाषामा ‘बने’ ले व्यापार र ‘पा’ ले बस्ती भन्ने बुझाउने भएकाले बनेपा व्यापारीको थलो रहेको र यसको आफ्नो सांस्कृतिक पक्ष निक्कै बलियो रहेको छ ।

बनेपालाई वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै ‘बनेपा’ हुन आएको पनि किंवदन्ती रहेको छ ।

बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएका छन् । बनेपा नौ वटा ढुङ्गेधारा, नौ चोक, नौ वटा डबली र ९९ वटा इनार भएको सहर थियो ।

शिलालेखअनुसार कलिगत वर्ष ४१९७ अर्थात् विसं ११५९ मा पूर्व मध्यकालीन राजा आनन्द देवले बनेपा वरिपरिका ससाना बस्ती भोलाखाबस्तीमा मिलाई नयाँ बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेश दिक्पालका रूपमा प्रतिस्थापन गरी प्रत्येक गणेशको मन्दिर समीप ढोका, पोखरी र पाटी बनाएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठै वटा गणेशसँग सम्बन्धित एक÷एक दाफा भजन हुन्छन् ।

तपाईको प्रतिक्रिया