माघी पर्वको सांस्कृतिक महत्व युवा पिँढीलाई बुझाउँदै थारू समुदायका ज्येष्ठ नागरिक

  माघ ०१, २०७९

कञ्चनपुर,माघ १ : शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मनिराम डगौराले माघ महिनाको पहिलो दिन आज बिहानीको झिसमिसेमै मुर्गाको डाँकसँगै गाउँका साथीभाइका साथमा सुनवोरा नदीमा बनाइएको घाटमा गएर सामूहिक रुपमा नुहाउनुभयो । माघको पहिलो दिन नदी, तलाउमा नुहाउनुपर्ने थारू समुदायको चलन हो ।

“पहिला नदी, तलाउमा बाजागाजासहित गएर नुहाउने चलन थियो”, डगौराले भन्नुभयो, “हाल त्यो चलन हराएको छ, नुहाउनु पर्छ भन्ने भावना भने अहिलेसम्म कायम छ ।” उहाँका अनुसार नुहाउने क्रममा पहिला बुढापाकाहरुले तामाको दुई पैसा हातमा लिई नदीमा डुबुल्की मार्दा पैसा नदीमा छाड्ने गर्दथे ।

जलदेवतालाई पैसा अर्पण गर्दथे । हाल त्यो चलन भने हराइसकेको छ । नुहाइ सकेपछि नयाँ कपडा फेरेर जल अर्पण गर्नुपर्ने चलन रहेको छ । “नयाँ पिँढीलाई यस चलनबारे जानकारी नहँुदा सिकाउँदै आएका छौं”, उहाँले भन्नुभयो, “युवाहरुले पनि पुरानो चलनलाई अङ्गीकार गर्दै आएका छन् ।” महिलाहरुले भने घर नजिकैको कुवा, घाटमा नुहाउने थारू समुदायको पुरानो चलन हो ।

कुवाको प्रचलन हराउँदै गएपछि महिलाले घरमै रहेको ह्यान्डपम्पमा नुहाउने गर्दछन् । घर नजिक नदी तलाउ हुनेले भने त्यसमै नुहाउने गर्दछन् ।

महिलाहरुले घरको काम गर्नुपर्ने भएकाले घर नजिकै नुहाउने गरेको थारू अगुवा पुरन चौधरीले बताउनुभयो । नुहाएर आएपछि पुरुषहरुले ‘निश्राउ कहार्ने’ गर्छन् । एउटा भाँडोमा चामल, नुन, मासको दाल छुट्टै भाडामा पाँच अञ्जुलि झिकेर राखिन्छ यसलाई नै निश्राउ कहार्ने भन्ने गरिन्छ । निश्राउलाई दिदीबहिनीलाई दिने चलन छ ।

निश्राउ राख्ने कार्यपछि सबैभन्दा पहिला घरको पाको व्यक्तिबाट टीका लगाउने क्रम सुरु भई क्रमानुसार टीका थाप्नुपर्ने चलन छ । टीका थाप्दै आशीर्वाद दिने र लिने क्रम सुरु हुन्छ ।

थारू समुदायको चलनअनुसार चामलको सेतो टीका थाप्नुपर्ने हुन्छ । “हाल रातो टीका लगाउने चलन चलको छ त्यो पहिला थिएन”, दान सिंह दहितले भन्नुभयो, “चामलकै सेतो टीका चाडपर्वमा लगाउने गरिन्थ्यो ।” टीका थापेपछि परिवारसँग बसेर घरमा चामलको पीठोबाट तयार गरिएको ढिक्री, सुँगुरको मासु, माछा, सिद्रा, कुखुरा, जाँड, मदिरालगायत खाने गरिन्छ ।

घरमा खानपिन गरी सकेपछि गाउँघरका मान्यजनबाट टीका थाप्ने र आशीर्वाद लिने गरिन्छ । त्यही बेलादेखि गाउँमा नाचगानको कार्यक्रम सुरु हुने दहितले बताउनुभयो । उहाँका अनुसार नाचगानका लागि गाउँका वडघरले नाच टोली गठन गरेका हुन्छन् । नाचको चाँजोपाँजो मिलाउने जिम्मा वडघरकै हुन्छ ।

गाउँका सबै जनाले मिलेर परम्परागत मघौटा, झुमरा, छोकरा लगायतका नाच नाच्ने गर्दछन् । यो क्रम दिउँसोदेखि सुरु हुन्छ । घरघरमा पुगेर नाच्नुपर्ने हुन्छ । यस्तो नाच गाउँअनुसार पाँच दिनदेखि एक हप्तासम्म चल्ने गर्दछ ।

माघीको दोस्रो दिन दाजुभाइले आफ्ना दिदीबहिनीहरुलाई निश्राव अर्थात् कोसेली दिन जाने गर्दछन् । कोसेलीमा चेलीबेटीका लागि छुट्याएको निश्रावसहित ढिक्री, रोटी, माछा, मासु, तिलको लड्डु, लगायतका परिकार हुने गर्दछन् । कोसीले बोकेर दाजुभाइ आउने व्यग्र प्रतीक्षामा दिदीबहिनी बसेका हुन्छन् ।

कोसेली लगेर पुगेका दाजुभाइसँग दिदीबहिनीबीच भलाकुसारी गर्ने गरिन्छ । यस कार्यले दिदीबहिनी र दाजुभाइको स्नेहलाई अझ प्रगाढ बनाउने वडघर रामप्रसाद चौधरीले बताउनुभयो ।

थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । “माघीमा नाचगान र दिदि बहिनीलाई कोसेली दिने कार्य सकिएपछि घरपरिवारका सबै जना एक साथ बसेर घरको पारिवारिक योजना बनाउन छलफल गर्दछन्”, वडघर डगौराले भन्नुभयो, “आगामी वर्षका लागि घर व्यवहार सञ्चालन गर्नका लागि के गर्ने के नगर्ने भन्नेबारे छलफल हुन्छ । त्यसकै आधारमा योजना बनाइन्छ ।” अंशबन्डा, विवाह, लेनदेन, खेत जोत्ने, कुन साहु महाजनसँग व्यवहार गर्ने, घरको मुखिया कसलाई मान्ने भन्नेबारे छलफल गरी योजना बनाइने उहाँको भनाइ रहेको छ ।

उहाँका अनुसार सामूहिक कामकाजका लागि माघको दोस्रो हप्तादेखि गाउँमा छलफल हुन्छ । छलफलका आधारमा गाउँको नयाँ नेतृत्व चयन गरिन्छ । गाउँको मुखियाका रुपमा वडघर, रोगब्याधी लागे तान्त्रिक विधिबाट निदान गर्न गुरुवा, गुरुवाको सहायकका रुपमा केशौका, गाउँमा खबर गर्ने कार्यका लागि चौकीदारको चयन गरिन्छ ।

नेतृत्व चयनपछि गाउँमा बसोबास गर्ने प्रत्येक घरका मुखिया (गरधुरिया) भेला भई गाउँको एक वर्षको योजना बनाउने गर्दछन् । त्यसमा कुलो, सडक, पुल पुलेसा निर्माण, मर्मत, पूजापाठबारे, तिहाइ उठाउने ९गुरुवा लगायतलाई दिइने पारिश्रमिक बापतको अन्न०, विवाह, अंशबन्डा गर्नेलगायत बारेमा योजना बनाइन्छ ।

सोही योजनाअनुसार वडघरको नेतृत्वमा रहेको टोलीले कार्य अगाडि बढाउने गर्दछन् । वडघरले गाउँमा हुने विवाद, झैझगडा मिलाउनेदेखि विकास निर्माणका कार्यमा नेतृत्व बहन गर्दछन् ।

माघी पर्वले समाजमा सद्भाव कायम गर्ने, सम्बन्ध सुधार गर्ने, परम्परागत संस्कार र संस्कृति जोगाउनमा मद्दत पु¥याउनेमा थारू समुदायको विश्वास छ । माघी पर्वका कार्यक्रमहरु सकिएपछि नाच टोलीमा संलग्न लगायतका खेरा ९भोज० खाने चलन छ ।

तपाईको प्रतिक्रिया