विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद चौधरी

  माघ ०१, २०७९

नवलपरासी, माघ १ : सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग आज छलफल गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गर्नुभएको हो ।

सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर सांसद चौधरीले स्थानीयसँग विकास निर्माण र स्थानीय समस्याबारे छलफल गर्नुभयो । सो क्रममा चौधरीसमक्ष स्थानीयले बाढी, डुबान र सिँचाइको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सरावल गाउँपालिका–६ का झिङ्कु सिंह चौधरीले डुबानले बर्सेनि समस्या हुने गरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । “हामीले प्रत्येक वर्ष डुबानको समस्या झेल्दै आएका छौँ ।

सरकारले सधैँ आश्वासन मात्रै दिन्छ तर कहिल्यै पनि समस्या समाधानका लागि गम्भीर देखिएन,” उहाँले भन्नुभयो, “तपाइँ सांसद निर्वाचित हुनुभएको छ । अब हाम्रो यो समस्या समाधान हुनेछ भन्ने आशा गरेका छौँ ।”

त्यस्तै प्रतापपुर गाउँपालिका–५ का रामजी सिंहले सिँचाइको समस्याबारे अवगत गराउनुभएको थियो । “सिँचाइको भरपर्दो व्यवस्था नहुँदा किसानहरुले ठूलो समस्या भोग्दै आएका छौँ,” उहाँले भन्नुभयो, “सिँचाइको समस्या समाधानका लागि नहरमा नियमित पानी आउने व्यवस्था गर्नुपर्छ ।”

उहाँले पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्सेनि हुने डुबानको समस्या समाधानका लागि पहल भइसकेको बताउनुभयो । उहाँले नेपाल सरकार र भारत सरकारबीच नै डुबान समस्याका बारेमा उच्च तहमा छलफल भइरहेको बताउनुभयो ।

त्यस्तै उहाँले निर्वाचन क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजनासहित खाका बनाउने काम पनि भइरहेको बताउनुभयो । सोही अवसरमा प्रदेशसभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुबानको समस्या समाधान गर्न प्रतिनिधिसभा सदस्य चौधरीसँग समन्वय गरेर आफूले पनि काम गरिरहेको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया