कैलो नदर राक्षसलाई भुलाउन बडगाउँमा माघी मेला

  पुष ३०, २०७९

मुसीकोट, पुस ३० : रुकुमपश्चिमकोे बाँफीकोट गाउँपालिका–५ मा माघीको अवसरमा आजदेखि मेला सुरु भएको छ । वडागाउँमा लाग्ने मेला अन्य मेलाभन्दा फरक छ ।

मेलाको अवसरमा सिस्नो खेल्ने, पायो माग्ने र खोलामा साना बालबालिकालाई बेहुला–बेहुली बनाएर विवाह गरिदिने प्रचलन छ ।

यो वर्ष पनि मेलाको निमन्त्रणा दिन गएको टोलीले मेलामा आउन आग्रह गर्दै पाहुनालाई सिस्नाले हानेर माघीको कोसेली बाँडेको थियो ।

मेला सुरु हुनुभन्दा अघिल्लो दिन शुक्रबार गाउँपालिकाको कार्यालयलगायत कार्यालयमा पुगेर मेला आयोजक समितिले सिस्नोले हान्दै मेलामा आउन निमन्त्रण दिएको हो ।

पाहुनालाई मेलामा निमन्त्रणा गर्दा सिस्नोले हान्ने चलन पुरानो भए पनि बीचमा यो प्रचलन हराएको थियो । यो वर्षदेखि फेरि सिस्नोले पहुनालाई हान्ने प्रचलन चलाइएको स्थानीय युवा प्रम पुनले जानकारी दिनुभयो । कलौ नदर राक्षसलाई भुलाउनका लागि सिस्नो खेल्ने प्रचलन रहेको उहाँको भनाइ छ ।

आजदेखि सुरु भएको माघी मेलामा भोलि बिहान सङ्क्रान्तिको अवसरमा पायो माग्ने प्रचलन रहेको छ । भोलि बिहानै प्रत्येकको घरमा गएर पायो मागिने छ । पायो मागिसकेपछि गाउँलेहरू एकापसमा सिस्नो खेल्ने प्रचलन छ ।

माघ २ गते भने वडा नं ५ र ६ बाट साना बालबालिकालाई बेहुला–बेहुलीको स्वरूपमा सजाएर खोलामा लगेर विवाह गरिदिने प्रचलन रहेको पुनले जानकारी दिनुभयो ।

खोलामा कलौ नदर भूतलाई झुलाउनका लागि बाजागाजासहित बेहुला–बेहुलीको विवाह गरिदिने प्रचलन रहेको छ । कलौ नदर राक्षसबाट बच्नका लागि स्थानीयवासीले दुबो र पाती जलाएर कालो टीका पनि लगाउने गर्छन् ।

तपाईको प्रतिक्रिया