न्यायका लागि आशावादी मिटरब्याजी पीडित

  पुष २८, २०७९

मलङ्गवा,पुस २८ मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् ।

लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला भएका मिटरब्याजी पीडितहरूले न्यायका लागि पुनः अगाडि बढ्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पीडितको मुद्दा सम्बोधनका लागि विगतदेखि पहल गर्दै आएका छन् ।

सञ्चारकर्मी हुँदा बहालवाला गृहमन्त्री रवि लामिछानेले जोडदार रूपमा आवाज उठाउनुभएको थियो । विगतमा मुद्दा उठान गर्ने व्यक्तिहरू माग सम्बोधन गर्ने ठाउँमा पुगेकाले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पीडित रुकमिनी देवी चौधरीले बताउनुभयो ।

अदालतबाट न्याय पाउनेमा आफूहरू सशंकित रहेको पीडित चौधरीले बताउनुभयो । पीडक बलियो रहेकाले उनीहरूले न्यायालयलाई प्रभावित पारेको चौधरीको आरोप छ ।

पीडितहरूको आजको भेलाले न्यायका लागि एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय गरेको छ । न्यायका लागि अगाडि बढ्न मिटरब्याजी तथा ठगी विरुद्ध जिल्लास्तरीय सङ्घर्ष समितिलाई पुनर्गठन गरेको छ ।

सरस्वती मिश्र वाग्लेको नेतृत्वमा पुनः सङ्घर्ष समिति बनाइएको हो । माओवादी केन्द्रका नेता एवं हरिवन नगरपालिकाका नगरप्रमुख कमल बुथाढोकी भेलामा सहभागी हुनुभएको थियो ।

बुढाथोकीले पीडितको न्यायका लागि वितगदेखि नेतृत्वदायी भूमिका निभाउँदै आउनुभएको छ । भेलामा सर्लाही र महोत्तरी जिल्लाका मिटरब्याजी पीडितहरू सहभागी थिए ।

सर्लाहीमा तीन मिटरब्याजी श्याम परदेशी, रामबाबु यादव र सञ्जय साह रौनियारले धेरै व्यक्तिलाई ठगी गरी उठीवास लगाएपछि न्यायका लागि उनीहरू सङ्घर्षमा उत्रेका हुन् ।

 

श्याम परदेशी भन्ने श्यामकृष्ण साह जिल्ला अदालत सर्लाहीको आदेशामा पुर्पक्षका लागि अहिले कारागारमा रहेका छन् । रामबाबु यादव फरार छन् । सञ्जय साह रौनियार भने धरौटीमा छुटेका छन् ।

तपाईको प्रतिक्रिया