सुधार हुँदै ओजोन तह

  पुष २८, २०७९

काठमाडौँ, पुस २८ : ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् । ओजोन तहको विनाशका कारक रहेको औद्योगिक रसायनको प्रयोगको कमीका कारण ओजोन फेरि साबिककै अवस्थामा फर्कने लयमा अग्रसर बनेको उनीहरूको निष्कर्ष छ ।

नेसनल एरोनिक्स तथा स्पेस एडमिनिस्ट्रेसन (नासा) र युरोपेली आयोग, विश्व मौसम विज्ञान, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनलगायतमा आबद्ध वैज्ञानिकले यसबारे अनुसन्धान गरेका थिए ।

अमेरिकी मौसम विज्ञान समाजको मङ्गलबार सम्पन्न १०३औँ वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा जिओइन्जिनियरिङजस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरिएको उल्लेख छ । प्रत्येक चार वर्षमा प्रकाशित हुने अध्ययन प्रतिवेदनको यस वर्षको संस्करणले ओजोन तहमा अझै पनि अनपेक्षित प्रभाव बढ्दो रहेको भन्दै वैश्विक समुदायलाई चेतावनी दिइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण गर्दै ओजोन तहको सुरक्षा गर्न सफल बनेको छ । त्यसले पनि उल्लेखनीय रूपमा ओजोन तहको सुधार भएको दाबी गर्न सकिने आधार बनेको तथ्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ । ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परावैजनी किरण सीधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा नै सङ्कट निम्तिएको थियो ।

वर्तमानमा अपनाइएका जलवायु परिवर्तनका नीति यथावत् रहेमा ओजोन तह आगामी सन् २०६६ सम्म अन्टार्कटिकामा, सन् २०४५ सम्म आर्कटिकमा र सन् २०४० सम्म बाँकी विश्वका लागि ओजोन तह पूर्ण रूपमा पुरानै अवस्थाको सुरक्षा कवज बन्नेछ । त्यसपछि ओजोन तहको अवस्था प्वाल पर्नुअघिको अर्थात् सन् १९८० को अवस्थामा पुग्ने अपेक्षा वैज्ञानिकले गरेका छन् । सन् २०१९ र २०२१ का बीचमा अन्टार्कटिकाको आकाशमा ओजोन तहमा परेको प्वालको आकार पहिलेको तुलनामा धेरै खुम्चिएको देखिएको छ । प्रतिवेदनअनुसार यो सुधार भर्खरै मात्र भएको भने होइन ।

जलवायु अनुकूलनमा वैश्विक समुदायको सामूहिक पहलका कारण सन् २००० देखि अन्टार्कटिका क्षेत्रको ओजोनको प्वालको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधार भइरहेको छ । ओजोन तहको सुधार आफ्नो बाटोमा फर्किनु विश्वकै लागि सुखद समाचार भएको प्रतिवेदनले औँल्याएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको ओजोन सचिवालयका कार्यकारी सचिव मेग सेकीले विगत ३५ वर्षमा मोन्ट्रियल अनुबन्धको आधारशीला वातावरण संरक्षणका लागि सच्चा च्याम्पियन बनेको तर्क गरिएको बताउनुभयो । उहाँका अनुसार जलवायुसम्बन्धी सन्धि सम्झौता शाब्दिक रूपमा मात्र रहेको आलोचना भइरहँदा ओजोन तहमा देखिएको सुधारले तिनको महŒव थप

उजागर गरेको छ । ओजोन तहको थप सुधारका लागि हाइड्रोफ्लोरो कार्बनको उत्पादन र खपत घटाउनुपर्नेमा अध्ययनले जोड दिएको छ । यस्ता ग्यासले प्रत्यक्ष ओजोनलाई प्रत्यक्ष प्वाल त पार्दैन तर शक्तिशाली जलवायु परिवर्तकारी ग्यास भएकाले तापक्रम वृद्धि गर्दा ओजोन सुधारमा समय लाग्छ । ओजोन तहमा आएको सुधारले सन् २१०० सम्म ०.३–०.५ डिग्री सेल्सियस तापक्रम वृद्धि घट्ने अनुमान गर्न सकिने विज्ञहरूको मूल्याङ्कन समितिले दाबी गरेको छ ।

विश्व मौसम सङ्गठनका महासचिव पिटर तालासले भन्नुभयो, “ओजोनलाई क्षति गर्ने रसायनलाई चरणबद्ध रूपमा हटाउन यो सफलताले के गर्न सकिन्छ र गर्नैपर्छ भन्ने देखाउँछ ।” जसअनुसार खनिज इन्धनको प्रयोग कम गर्न, हरितगृह ग्यास कटौती र तापक्रम वृद्धिलाई सीमित गर्नुपर्ने हुन्छ ।

स्रोत : गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया