काठमाडौँ, पुस २५ : नेपाल मगर सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव गरिने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा हुने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने सङ्घले जनाएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले महोत्सवमा मगरहरुको मौलिक, सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, वेशभूषा र मगर जातिको मौलिक खेल हुने जानकारी दिनुभयो ।
महोत्सवमा धनुष बाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम आयोजना गरिने बताइएको छ । कार्यक्रममा मगर समुदायका अन्य सङ्घ संस्थाहरुको पनि प्रतिनिधित्व रहने पुनको भनाइ थियो ।
यही पुस २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मगरहरुको परम्परित खेलहरू क्षलो हान्ने र धनुष बाणलगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते बिहान १० बजे भृकुटीमण्डपबाट ¥याली निकाल्ने सङ्घले जनाएको छ ।
महोत्सवमा उपस्थिति भएर मगरको मौलिक, संस्कृति, वेशभूषा, खानपिन, मौलिक खेललगायतका गतिविधिको अवलोकन गर्न अध्यक्ष पुनले सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ ।
“यो देशका विभिन्न जातजातिमध्ये मगरको एउटा बृहत् र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षा गर्दै समग्र मगर समुदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाइ दिदीबहिनीलाई जोडिन आग्रह गर्दर्छौँ”, अध्यक्ष पुनले भन्नुभयो ।
संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नुपर्ने सङ्घको माग छ । सङ्घले संंस्कृति जातिभन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएको छ ।
कार्यक्रममा सङ्घका उपमहासचिव खगेन्द्र पुन, सहअध्यक्षहरू गङ्गाबहादुर थापा मगर र गङ्गाखासु मगर, महासचिव टेक नाम्जाली मगर लगायतको उपस्थिति रहेको थियो ।