बाजुरा ,पुस २५ : बाजुराको बडिमालिका नगरपालिकाका बिरामी र उनका आफन्त अहिले स्वास्थ्य चौकी पुगेर स्वास्थ्यकर्मीको बाटो कुर्ने गरेका छन् । करारका कर्मचारीको म्याद थप नभएपछि कर्मचारी पुग्न नसकेपछि स्वास्थ्य चौकी बन्द जस्तै बनेको छ । तर अझै पनि स्वास्थ्यकर्मी आउने आशा गर्दै स्वास्थ्य चौकी पुगेर पर्खने गरेका छन् ।
केही वर्ष अघि बडिमालिका नगरपालिकाका स्थानीयहरूको गाउँमै स्वास्थ्य सेवा दिने गरी सुचारु गरिएका पाँच वटा सहरी स्वास्थ्य संस्था दुई महिना देखि बन्द हुँदै आएको छ । स्वास्थ्य संस्था बन्द गरिएपछि अहिले गाउँमा बिरामीहरू स्वास्थ्यमा आएर दिनानुदिन दिन स्वास्थ्यकर्मीको बाटो कुर्दै बस्ने गरेका छन् ।
बडिमालिका नगरपालिकाको वडा नं –१ को पाटा सहरी स्वास्थ्य केन्द्र, पिनालेख सहरी स्वास्थ्य केन्द्र –९ को मेलकांध सहरी स्वास्थ्य केन्द्र, –५ को मना सहरी स्वास्थ्य केन्द्र, –६ को कोर्ध सहरी स्वास्थ्य केन्द्र झण्डै तीन हप्ता देखि बन्द हुँदै आएका छन् । २०७९ मङ्सिरमा बसेको बडिमालिका नगरपालिकाको १३ औँ कार्यपालिकाको बैठकले ती संस्थामा काम गर्दै आएका करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि अहिले ती स्वास्थ्य संस्था कर्मचारी बिहिन बनेका हुन् ।
बडिमालिका नगरपालिका –१ पाटाका स्थानीय लालबहादुर हमालले, चिसोको कारण गाउँमा रुघाखोकी आउँ मासी, झाडापखाला, निमोनिया लगायतका विभिन्न प्रकारका बिरामीहरू बढ्दै गएका छन् । यता स्वास्थ्य संस्था भने तीन हप्ता सम्म बन्द हुँदै आएको बताउनुभयो ।
यता संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ,कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । भनेको छ तर स्थानीय सरकारले पहिला सुचारु हुँदै आएका स्वास्थ्य संस्था अहिले उल्टै महिना सम्म बन्दै गर्दै आएका छन् ।
लामो समय देखि गाउँमै स्वास्थ्य सेवा लिँदै आएका यहाँका स्थानीयले यती बेला सामान्य उपचारका लागि पनि जिल्ला स्वास्थ्यमै जानु पर्ने अवस्था आएको हमालले बताउनुभयो ।
बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले, कर्मचारी नभएकोले ती सहरी स्वास्थ्य बन्द भएका हुन् । नगरपालिकाले ती स्वास्थ्यमा काम गर्ने कर्मचारीका लागि नयाँ विज्ञापन खोलेको छ । दुई चार दिन भित्रै सबै स्वास्थ्य संस्थामा कर्मचारी पुग्ने बताउनुभयो ।
उहाँले, कर्मचारीको अभावका कारण केही दिन ती स्वास्थ्य संस्था बन्द भए पनि दुई दिन भित्रै बन्द भएका ती सबै स्वास्थ्य संस्थाबाट स्थानीयलाई सहज रूपमा स्वास्थ्य सेवा सुचारु गर्ने बताउनुभएकाे गोरखापत्र अनलाइनमा उल्लेख छ ।