विद्युतीय चुलो जडानका लागि इन्द्रावतीले माग्यो प्राधिकरणसँग सहयोग

  पुष २४, २०७९

सिन्धुपाल्चोक, पुस २४ : इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि बढाएको छ । ‘हाम्रो लगानी हाम्रै सम्पत्ति’ भन्ने नाराका साथ गाउँपालिकाले सो योजना अघि सारेको हो ।

आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमक्ष आवश्यक सहयोगको लागि मागपत्र बुझाउनुभएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष नेपालसहितको टोलीले मागपत्र बुझाएको हो ।

आगामी आवभित्र पालिकाभित्रका सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँले जनताका आवश्यक दैनिकीलाई मध्यनजर गर्दै जनताका मागलाई सम्बोधन गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकालाई दाउरा र ग्यास चुलोरहित बनाउन सो अवधारणालाई अघि बढाइएको बताउनुभयो ।

मागपत्रलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो कार्यक्रम सञ्चालनका लागि आवश्यक ट्रन्सफर्मर, प्लास्टिक, कोटेड, तारलगायत आवश्यक सहयोगको लागि प्रतिबद्धता व्यत्त गर्नुभएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

टिचिङ सेन्टर स्थापना

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) स्थापना गरेको छ । पालिकाको शैक्षिक गुणस्तर विकासका लागि यो अवधारणा आजदेखि टिचिङ सेन्टर सुरु गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

२१औँ शताब्दीको शिक्षालाई वस्तुवादी, वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी बनाउन यो अवधारणा ल्याइएको उहाँको भनाइ छ ।

विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिलाई केन्द्रित गर्ने योजनाअनुसार टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै अन्य पालिका मध्येकै पहिलो भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

यो मोडेलमा विद्यार्थीले आवश्यकताअनुसार विषय छनौट गरेर अध्ययन गर्न सक्ने उहाँको भनाइ छ । गाउँसभाबाट नीतिगत रूपमै टिचिङ सेन्टर स्थापना गर्ने योजनाअघि बढाइएको शेर्पाले बताउनुभयो ।

सो योजनाको आर्थिक व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार १२ कक्षामा शिक्षकको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई-दुई मात्र शिक्षक दरबन्दी रहँदा पढाउन समस्या भएपछि पालिकाभित्रका १२ कक्षा सम्मका तीन वटा विद्यालयका विद्यार्थीलाई एउटा केन्द्र पर्ने ठाउँमा जम्मा गरेर तीनवटै विद्यालयबाट दुई–दुई जना शिक्षक टिचिङ सेन्टरमा पढाउन आउने छन् ।

अहिले तत्काललाई ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पसबाट टिचिङ सेन्टर सुरुआत गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि पहिलो आर्थिक वर्षमा सरस्वती माध्यमिक विद्यालय ग्याल्थुमका विद्यार्थीलाई व्यवस्थापनसहित पढाउन सुरु गरिनेछ ।

विद्यार्थीको भर्ना तथा परीक्षा फारामदेखि अन्य व्यवस्थापन भने सम्बन्धित विद्यालयले गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वनाथ भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया