पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत

  पुष २२, २०७९

काठमाडौँ, पुस २२ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको छ ।

काउन्सिलमा नयाँ अनलाइन मिडियाका लागि आज आयोजित अभिमुखीकरणमा उहाँले नीहित स्वार्थ पूरा नभए समाचार बनाउने भनी धम्क्याउने जस्ता प्रवृत्ति बढेका र यस्ता प्रवृत्तिले पत्रकारिता जगतलाई नै कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको पनि स्पष्ट गर्नुभयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “कतिपय सञ्चारमाध्यमलाई काउन्सिलले विशेष निगरानीमा पनि राखेको छ । पर्याप्त प्रमाण पु¥याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनको कारवाही हुनेछ ।”

अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा विषय विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूुल्य मान्यताको पालना गरेमा धेरै समस्याको समाधान हुने बताउनुभयो । उहाँले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन काउन्सिलजस्ता नियामक निकाय सक्रिय बन्नुपर्ने सुझाव राख्नुभयो ।

तपाईको प्रतिक्रिया