नेपाली उत्पादनको निर्यात बढाउन नेपाल निर्यात परिषद्को माग

  पुष २०, २०७९

भक्तपुर, पुस २० : नेपाल निर्यात परिषद्ले आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कूल निकासी ३४ दशमलव छ प्रतिशतले घटेको बताएको छ ।

रजत जयन्तीको अवसर पारेर आज भक्तपुरमा परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले चालु आवको मङ्सिर महिनासम्ममा नेपालको निकासी गत आवको तुलनामा घटेर रु ६७ अर्ब ३० करोडमा झरेको बताउनुभयो ।

“आव २०७७/०७८ मा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २६ दशमलव एक प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ४८ करोड पुगेको थियो । वैदेशिक व्यापार बढ्दा नेपालको कूल निकासी पनि ४१ दशमलव सात प्रतिशतले वृद्धि भई रु दुई खर्ब तीन करोड पुगेको र पैठारी २४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १९ खर्ब २० अर्ब ४५ करोड पुगेको थियो”, पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले भन्नुभयो, “तर आव २०७९/०८० को प्रथम पाँच महिनामा नेपालको कूल निकासी ३४ दशमलव छ प्रतिशतले घटेर रु ६७ अर्ब ३० करोड मात्रै रहेको छ । हाम्रो देशको अर्थव्यवस्था निर्यातमुखी नभई आयातमुखीमै निर्भर हुँदा समस्या आएको छ ।”

सरकारले निर्यातयोग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न माग गर्दै उहाँले आयातमुखी अर्थतन्त्रका कारण मुलुकको अर्थतन्त्र बलियो बन्न नसकेको बताउनुभयो ।

अध्यक्ष पोखरेलले राज्यले निर्यातमुखी उत्पादनशील उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले नेपाली उत्पादन विभिन्न मुलुकमा निर्यातका लागि विश्वव्यापी मान्यता प्राप्त ल्याबको स्थापना गर्नुपर्नेमा जोड दिँदै नेपाली परम्परागत उत्पादनलाई छिमेकीलगायत विभिन्न मुलुकसँग प्रतिस्पर्धी बनाउन सरकारले आफ्ना कूटनीतिक नियोगमार्फत नेपालका निर्यात योग्य वस्तुको व्यापकरूपमा प्रचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

चर्को हवाई भाडा, दक्ष जनशक्तिको अभाव, तरलता अभाव, बजार प्रवररद्धन, कच्चापदार्थ ढुवानी खर्च महँगो, बजार विविधीकरणको कमीका कारण नेपाली उत्पादन विदेशमा निर्यात वृद्धि, कर प्रणालीमा असमानताका कारण निर्यात वृद्धिमा समस्या आएको अध्यक्ष पोखरेलले भनाइ छ ।

आयातमुखी बजारलाई निर्यातमुखी बनाउन परिषद्ले निर्यात दिवसका अवसरमा यही पुस २१ र २२ गते काठमाडौँको ठमेलमा नेपालमा उत्पादित विभिन्न सामानको २० वटा कक्ष रहने गरी नेपाली निर्यातजन्य वस्तुको बृहत् प्रदर्शनी आयोजना गर्ने उहाँले बताउनुभयो ।

‘निर्यातको विस्तार, अर्थतन्त्रको सुधार’ भन्ने नाराका साथ परिषद्ले २५औँ वार्षिक साधारणसभा, रजत जयन्ती एवं सातौँ निर्यात दिवस मनाउने भएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का पूर्वअध्यक्ष नरेशलाल श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन निर्यातमुखी नीति अवलम्बन गर्न नसके देश श्रीलङ्काको अवस्थामा पुग्न धेरैबेर नलाग्ने बताउनुभयो । उहाँले तीन तहकै सरकारले स्थानीय उत्पादनलाई विविधीकरणसँगै निर्यातलाई प्राथमिकतामा राख्नुपर्ने आँैल्याउनुभयो ।

तपाईको प्रतिक्रिया