काठमाण्डौँ, पुस १७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सले न्यारोबडी विमानबाट डेमो (प्रदर्शनी) उडान गरेको छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवतरण गर्ने यो नै पहिलो एयरबसको न्यारोबडी हो । काठमाडौंबाट दिउँसो १ः४४ मा उडेको हिमालयको अल्फा लिमा भिक्टर एयरबस ३२० विमान ३३ मिनेटमा पोखरा पुगेको थियो ।
१ सय ८० सिटको उक्त विमानलाई पोखरा विमानस्थलमा वाटर क्यानन सलुट (पानीको फोहोराले दिइने सलामी)ले स्वागत गरिएको थियो ।
विमानस्थल उद्घाटनका लागि बुद्ध एयरको एटीआर विमानमा पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल अवतरण गरेको ४५ मिनेटपछि हिमालयको जहाज पोखरा अवतरण भएको थियो । उक्त विमानलाई पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले स्वागत गरेका थिए ।
उक्त विमान चिनियाँ कप्तान तथा हिमालयका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ डीको नेतृत्वको चालक दल (आरपी प्रधान र पीबी श्रेष्ठ) ले पोखरा पुर्याएका थिए । बिनायात्रु काठमाडौंबाट उडेको विमान पौने ४ बजे रित्तै काठमाडौं फर्किएको थियो । पूर्ण यान्त्रिक विधिमा आधारित उडान सेवा सुरु भइनसकेकाले हिमालयको जहाज हेरेर गरिने उडान (भीएफआर) विधि अपनाउँदै डेमो उडानमा गएको थियो ।
स्रोत :ekantipur.com बाट






