बझाङ, पुस १४ : हे भाइ भैराला चेलाउ, भैला झाउ कोघरू ठकु¥याइलो होला
हरे भाइ हदेली लिइ सानावली, सुनजल्याखी सोघरू ठकु¥याइलो होला
हरे भाइ निरश निरशतमे बाहिरनाई पाटाखानी लाइहाल्यो खेल
हरे भाइ कसोरी निबसु हामे बाहिरनाई धुलो पुण्याइनु हाम्रो गाथ
हरे भाइ उरस्याउली, धुर स्याउली फटकाइहेल गाथ छु परतुडी तेर
हरे भाइ सात्या पोको, भात्या पोको राज बक्सिस्
हामु चाहियो पँहेलो पिठायो ।
माथिका हरफ खप्तडछान्ना गाउँपालिकामा भुवा खेल्नेहरूले गाउने श्लोक हुन् । महाभारतमा पाण्डव र कौरवबीचको युद्धका बेलामा पाण्डव पक्षले विजयका लागि गरेको सङ्घर्षको कथालाई माथिको श्लोकमा वर्णन गरिएको छ ।
द्वापरयुगमा पाण्डवको विजयपश्चात् गरिएको ¥यालीमा सबै ठाउँबाट विजयोत्सवका साथै मनोरञ्जनका लागि सबै ठाउँबाट जागरुक हुनुपर्ने सन्देश दिइएको छ ।
भैलो खेल्न जाँदा सुरुमा वल्लो पल्लो गाउँबाट आउनेले ठूलो स्वरमा कुन घरमा खेल्ने रु सबैभन्दा पहिले कुन घरमा खेल्दा उचित हुन्छ रु भन्दै प्रश्न गर्ने र अर्को गाउँबाट सबैभन्दा सम्पन्न, धेरै सम्पत्ति भएको घरबाट भैली खेल्ने कुराकानीपछि सबै एकै ठाउँमा जम्मा हुने र भैली खेल्ने सन्देश माथिको श्लोकमा छ ।
खप्तडछान्ना–५ पिठातोलाका माधव जोशीका अनुसार पौराणिक कालमा पाण्डव र कौरवको लडाइँ मात्रै नभई विकासका काम पनि गरेको हुँदा भुवा पर्व खेल्नेले त्यसबखतको विकासलाई समेत जोड्ने गरेका छन् ।
श्लोकमा भैलारा खेल्नेहरूलाई सरसफाइदेखि सबै चिल्लो कपाल बनाएर मनोरञ्जनमा बोलाउने र आएकाहरूलाई पहेँलो पिठायो दिनका लागि भैली माग्न आग्रह गर्ने गरेको उहाँले बताउनुभयो ।
पौराणिक कालमा भएका घटनाक्रमलाई सुदूर तथा मध्यपश्चिममा मौलिक पर्वका रूपमा मनाउँदै आएका छन् । केही जानकारका अनुसार सिन्धुघाँटीको सभ्यतादेखि जुम्ला सभ्यता हुँदै फैलिएका जिल्लामा भुवा खेलिँदै आएको छ भने केहीले पौराणिक कालमा पाण्डवका भाइहरू १४ वर्ष वनबास बस्दा कुनै ठाउँमा छोडेको चिनोका कारण मनाउँदै आएको बताउँछन् ।
खप्तडछान्ना–७ का ७० वर्षीय बिर्मल चौहान पाण्डवले छोडेको चिनारी भएको ठाउँमा भुवा खेलिने बताउनुहुन्छ । चौहानका अनुसार छान्नामा मात्रै हेर्ने हो भने पनि दर्जनभन्दा बढी ठाउँमा पाण्डवका भाइहरूले ढुङ्गा गाडेको, ढुङ्गा बोकेको तथा केही ठाउँमा डाँडा काटेर खोला बनाएको किम्बदन्ती छ ।
गडराय, पाटादेवल, सुतारीगाउँ, बामिलीमा ढुङ्गा गाडेको, खप्तडमा अवस्थित केदार ढुङ्गा पाण्डव भाइ भीमले भारतको केदारनाथबाट गादो (कपडाको अगाडिको भाग) मा बोकेर ल्याएको, छान्नाको बीच भागमा खनेर खोला भएको भन्ने किम्बदन्ती भएका कारण पाण्डवको विजयस्वरूप छान्नाका सबैजसो गाउँमा भुवा मनाउँदै आएको उहाँले बताउनुभयो ।
पाण्डव र कौरवको युद्धको बेलामा ढाल तरबारको प्रयोगले लडाइँ गरेको हुँदा वर्तमान समयमा पनि पौराणिक कथाको सम्झनास्वरूप पर्व मनाउँदै आएको नेपाली कांग्रेस बझाङमा नेता जगत्प्रसाद जोशीले बताउनुभयो ।
“पौराणिक कालदेखि नै चलिआएको हुँदा यसलाई पहिचानका रूपमा लिइएको छ । भुवा पर्व हाम्रो संस्कृति जस्तै हो । यसलाई जोगाउनका लागि नयाँ पुस्ता पनि सक्रियताका लागि सबै एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।
भुवा पर्व सुदूरपश्चिममा मात्रै नभई कर्णाली प्रदेशमा पनि प्रख्यात छ । सुदूरका बाजुरा, बझाङ र अछाममा मनाइने भुवा पर्व गएको शुक्रबार मध्यरातिदेखि सुरू भएको हो । प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुने भुवा पर्वलाई सुदूरपश्चिममा दसैँपछिकै दोस्रो ठूलो पर्व मानिन्छ ।
मष्टा गाउँपालिकाका उपाध्यक्ष हर्क धामीमा अनुसार प्राचीन नेपाली समुदायमा सुरू भएको पर्व अहिले संस्कृति नै भइसकेको छ ।
“सुदूरपश्चिममा जुम्ला सभ्यतासँगै भुवो पनि फैलिएको हो,” उहाँले भन्नुभयो, “नेपाली समुदायका हरेक पर्वहरू पूर्खादेखि नै चल्दै आएका हुन् यसलाई कालान्तरसम्म लिनका लागि नयाँ पुस्ताले पनि चासो दिनुपर्छ ।” यसलाई जोगाउनका लागि सम्बन्धित सबै निकाय जाकरूक हुनुपर्ने उहाँले बताउनुभयो ।
कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका नगरपालिका–१ पाटा बाजुराका धनराज पण्डितले भन्नुभयो, “हाम्रोतिर पर्वसँगै घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको छैटीसमेत माग्ने चलन पनि छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज पनि गरिन्छ ।”
उहाँका अनुसार बाजुरामा पनि फरक फरक तरिकाले भुवा पर्व मनाउने गरिन्छ । भुवाका श्लोकहरू पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरकरफरक गाउने गरिन्छ । “कुनै गाउँमा मुकुट लगाई श्रृङ्गार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ”, उहाँले भन्नुभयो ।
लोपोन्मुख अवस्थामा भुवो
पछिल्लो समय सुदूरमा भुवा पर्व लोपोन्मुख अवस्थामा छ । हरेक वर्ष मनाउँदै आएका पहाडिया समुदाय बसाइँसराइ गर्दै अन्यत्र सरेपछि पर्व मनाउन छोडिएको धनगढी बस्दै आएका खप्तडछान्ना–५ का भरत खत्रीले बताउनुभयो । उहाँका अनुसार पर्व लोप हुनुको कारण बसाइँसराइ प्रमुख हो ।
“रीतिरिवाज, पर्व संस्कृति लोप हुनुको पहिलो कारण बसाइँसराइ नै हो”, उहाँले भन्नुभयो, “त्यसैमा नयाँ पुस्ताले चासो नदेखाउनु भनेको प्रविधि र पश्चिमा संस्कृति भित्रिनुको परिणाम हो ।” उहाँका अनुसार पहाडिया समुदायको बसाइँसराइ विशेषगरी तराईमा हुन्छ ।
उहाँले भन्नुभयो, “तराईमा बसाइँ सरे पनि एउटै ठाउँमा नहुने, टाढा टाढा बस्नुपर्ने भएपछि सामूहिकरूपमा मनाउनका लागि सम्भव पनि हुँदैन ।” विदेशी संस्कृतिले पनि नेपाली संस्कृतिलाई मास्दै गएको उहाँले बताउनुभयो ।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका हुन्छन् ।
“आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वहरूको जगेर्ना गर्नुपर्छ”, जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले भन्नुभयो, “पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीय सरकार आफैँ अग्रसर भएका छन् । हामीले पनि पर्वको संरक्षणका लागि आर्थिक सहयोग गर्दै स्थानीयवासीलाई आग्रह गरेका छौँ ।”
बजालका अनुसार पर्व जोगाउनका लागि बसाइँ सरेका समुदायले आफैँ जुट्नुपर्छ । पुर्ख्यौली घरमा गए पनि संस्कृतिलाई उभ्याइरहन सबैलाई जागरूक बनाउनुपर्छ ।
“विदेशी संस्कृति भित्रिए पनि हाम्रो जस्तो संस्कृति छैन”, उहाँले भन्नुभयो, “नेपाली संस्कृति पर्वहरू हरेक दिन जस्तै हुन्छन् । विदेशीको जस्तो देखासिकी पनि होइन । सबैले सकेजति जोगाउनतिर लाग्नुपर्छ भन्ने हुन्छ ।”
उहाँले नयाँ पुस्ताले पनि मोबाइलमा सामाजिक सञ्जाला केन्द्रित नभएर आफ्नो पहिचान जोगाउनका लागि पनि जुट्नुपर्ने बताउनुभयो । पर्व फैलावटका लागि बरू सामाजिक सञ्जालमार्फत् नेपाली समुदायले प्रचार गर्नुपर्ने उहाँको भनाइ छ ।
भुवा पर्वमा रातभर आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत विभिन्न खेलहरू छुट्टा छुट्टै खेल्ने चलन छ । यो पर्व तीनदेखि नौ दिनसम्म मनाइन्छ । कतिपय ठाउँमा अर्को पूर्णिमासम्म नै पर्व मनाउने गरिन्छ ।
परापूर्वकालमा भुवो खेल्दा राति बाघले मान्छेलाई खाएपछि त्यस समुदायमा आफूलाई भुवो पर्व गर्दा अशुभ हुने भन्दै केही समुदायले भने मनाउन छोडेको जानकारहरू बताउँछन् ।