हत्या आरोपमा एक युवक पक्राउ

  पुष १२, २०७९

महेन्द्रनगर (धनुषा),  पुस १२ : आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार साँझ ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उहाँको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको अनुसन्धान टोली घटनास्थलमा जाँदा मृतकको शवमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शङ्कास्पद अवस्थामा फेला परेको र उहाँको हातको बुढी औला तथा घाटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिएको थियो । जिल्ला प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीका अनुसार दिलीपको शरीर खान तलासी गर्दा उहाँले लगाएको अन्डर वेयरभित्र मृतकले प्रयोग गर्ने मोबाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया