कैलाली, पुस ५ : कैलालीका सुनचाँदी व्यवसायी सङ्घले अत्तरियामा मोटरसाइकलमा आएका हतियारधारी समूहले सुनचाँदी व्यवसायीमाथि गरेको गोली प्रहार र लुटपाटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
सङ्घहरुले प्रेस विज्ञप्ति जारी गर्दै यही पुस ३ गते अत्तरियाको पूर्वी रोडस्थित सशस्त्र क्याम्प नजिकै रहेको घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय सुन व्यवसायी विकास सुनारमाथि भएको गोली प्रहारबाट उनी घाइते भएको र सुनका गरगहना तथा नगद लुटपाट गरिएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका हुन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनाको समूहले सुनारमाथि गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट घाइते सुनारको दाहिने हात र ढाडमा चोट लागेको तथा उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
उक्त समूहले करिब ३० तोला सुनका गरगहना (करिब रु ३० लाख ६६ हजारको धानमाल) र नगद रु दुई लाख लुटपाट गरेको बताइएको छ ।