काठमाडौँ, पुस ३ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दूरदराजका जनतालाई मानव अधिकारको प्रत्याभूति गराउनुपर्ने बताउनुभएको छ ।
मानव अधिकार चलचित्र केन्द्रले आज यहाँ आयोजना गरेको ‘१०औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र प्रतियोगिता–२०२२’ को अवसरमा आयोजित कार्यक्रममा उहाँले सीमान्तकृत समुदायलाई मानव अधिकारको सम्बन्धमा शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । “दूरदराजमा रहेका नागरिकलाई मानव अधिकारको महसुस गराउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष मगरले सीमान्तकृत र पिछडिएका समुदायमा मानव अधिकार शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । विकट क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले पनि मानवअधिकारको प्रत्याभूति गर्नसके मात्रै मानव अधिकारको संरक्षण हुने उहाँको भनाइ छ । उहाँले आयोगले पनि कसरी तल्लोस्तरसम्म नै मानव अधिकारको महसुस गराउने भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र प्रतियोगिता’को १०औँ संस्करण आयोजना गरिएको हो । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।