काठमाडौँ, पुस ३ : इञ्जिनीयर डा हेमनाथ घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ कविता सङ्ग्रह सार्वजनिक भएको छ ।
सङ्ग्रहमा गद्यशैलीका ३१ वटा कविता छन् । बङ्गलादेशको पद्मा नदीमा छ किमी लामो पुल बनाउन योगदान गर्नेमध्येका इञ्जिनीयर घिमिरेका यसअघि ‘छातीभित्र देश दुख्दा’ (२०६०) कविता सङ्ग्रह, ‘देशको माटो’ (२०७४) कविता सङ्ग्रह, गीतहरुको एल्बम, ‘बादलपानी’ (२०७८) बाल कविता सङ्ग्रह, ‘महिना र ऋतु’ (२०७८) बाल कविता सङ्ग्रह, ‘रङ्गीन कालो’ (२०७९) कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
पद्मकन्या बहुमुखी क्याम्पस, संस्कृत, पत्रकारिता र हिन्दी विभागले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा साहित्यकार तुलसी दिवसले मौलिक रचनाको नेपाली साहित्यमा अझै आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा विभागका प्रमुख उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, संस्कृत विषयका प्रा डा सुबोध शुक्ललगायतले प्राविधिक क्षेत्रमा रहेर पनि घिमिरेले नेपाली साहित्यलाई आधा दर्जन बढी मौलिक कृति दिनुभएको बताउनुभयो ।
सो अवसरमा घिमिरेको जीवनीमा अध्ययन गरी लेखिएको पुस्तक ‘डा हेमनाथ घिमिरे व्यक्ति र कृति’ (समालोचना) पनि सार्वजनिक गरिएको थियो । भगवती शर्माले सो पुस्तक लेख्नुभएको हो । पुस्तकमा घिमिरेको जीवनका विभिन्न पाटाका बारेमा चर्चा गरिएको छ ।