रुपनी–राजविराज सडक निर्माण सुरु

  पुष ०२, २०७९

राजविराज, पुस २ : लामो समयको प्रतिक्षापछि रुपनी–राजविराजसम्मको चार लेनको सडक निर्माण सुरु भएको छ । त्यसका लागि सडक खण्डमा पर्ने अतिक्रमण गरी बसेका घर तथा टहरा हटाउने कार्य सुरु गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

रुपनी बजारबाट सदरमुकाम राजविराजसम्म जोड्ने १० किलोमिटर लम्बाईको सडक फराकिलो बनाउने काम सुरु भएको उहाँले बताउनुभयो । हाल दुई लेनको सडक स्तरोन्नति गरी चार लेनको बनाउन लागिएको हो ।

सडक डिभिजन कार्यालय लहानका इञ्जिनियर रमेश गोइतले रु तीन अर्बको अनुमानित लागतमा रुपनी–राजविराज सडकखण्ड निर्माण सुरु गर्न लागिएको जानकारी दिनुभयो । हाल रु ५५ करोडको बोलपत्र स्वीकृत भइसकेको छ । सडक ३० मिटर चौडाइ तथा १९ मिटर कालोपत्र, फुटपाथ, सोल्जर र मिडियनसमेत रहने उहाँको भनाइ छ ।

विसं २०७८ चैत ९ मारुपनी–राजविराज चार लेन सडकखण्डको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तत्कालीन सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया