सिन्धुपाल्चोक, मङ्सिर २९ : स्थानीय तहमा सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सिन्धुपाल्पाल्चोक हेलम्बु गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
हेलम्बु गाउँपालिकाभित्रका बस्ती–बस्तीका सडक सोलिङ गरेपछि बाह्रै महिना यातायात सञ्चालन हुने गरी अधिकांश सडक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्तरोन्नति भएको हेलम्बुका रोजगार संयोजक शुभेक्षा आचार्यले बताउनुभयो ।
उहाँका अनुसार हेलम्बु–५ को बोल्दे सडक र गिजेडाँडा हँुदै माने जाने गोरेटो बाटो, वडा नं २ को गणेशेबगर सडक सोलिङ र वडा नं ४ को मङसाम टोल गोरेटो बाटो, सहबारी टोल गोरेटो बाटो प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस वर्ष मर्मत तथा स्तोरन्नति गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारसँगै आफ्नो गाउँ विकास भएको हेलम्बु–५ का श्याम तामाङले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका बजेटमा नाली सोहोर्ने, सामान्य सडक मर्मतसम्भार गर्ने, सफाइ गर्ने भन्ने आम बुझाइ रहेकामा हेलम्बुमा भने सो कार्यक्रमअन्तर्गत दीर्घकालीन कार्य गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउनुहुन्छ ।
यसले रोजगारीसँगै पालिकामा विकासको लहर छाउने उहाँको भनाइ छ । कार्यक्रमका लागि यो आर्थिक वर्षमा रु ६१ लाख ४८ हजार बजेट रहेको पालिकाले जनाएको छ ।
भलिबलको उपाधि हेलम्बुलाई
सिन्धुपाल्चोक जिल्ला अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।
हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउने घारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो र इन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसीले जानकारी दिनुभयो ।
विजेतालाई पुरस्कार वितरण गर्दै हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले खेलको माध्यमबाट हेलम्बुको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमा प्रदेशस्तरीय खेलको आयोजना गर्ने बताउनुभयो ।
प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका गरी चार पालिकाले सहभागिता जनाएको खेल संयोजक एवं शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ११ हजार एक सय ११, दोस्रो हुनेले रु ६५ हजार एक सय ११, तेस्रो हुनेले ३५ हजार एक सय ११ र चौथो हुनेले १५ हजार एक सय ११ नगद तथा शिल्ड प्राप्त गरेका छन् ।
अस्पताल उद्घाटन
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउने अभियानबमोजिम हेलम्बुमा अस्पतालको शिलान्यास गरिएको हो ।
हेलम्बु–२ किउलमा आज गाउँपालिका अध्यक्ष शेर्पाले हिन्दू र बौद्धधर्मको परम्परानुसार अस्पतालको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै अध्यक्ष शेर्पाले अब हेलम्बुका नागरिकको स्वास्थ्योपचार हेलम्बुमै हुने दाबी गर्नुभयो ।
उहाँले सामान्य बिरामी पर्दासमेत अन्यत्र जानुपर्ने समस्याको अब छिट्टै अन्त्य हुने भन्दै हेलम्बु गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बन्न लागेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले दिन र रात गरी दुई सिफ्टमा काम गरी निर्धारित समयअगावै काम सक्नसमेत निमार्ण कम्पनीलाई आग्रह गर्नुभयो ।
उहाँले निमार्णको चरणमा हुने जति पनि समस्या समाधान गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्दै समयभन्दा अगाडि नै निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष शेर्पाले सम्पूर्ण जग्गादातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
बहुवर्षीय योजनाअन्तर्गत रु १८ करोड लागतमा १८ महिनामा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । न्यू ड्राइगन निर्माण सेवा प्रालिले ठेक्का पाएको अस्पतालको समयमै काम सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने कुरामा आफू प्रतिबद्ध रहेको गाउँपालिका ठेकेदार अमर दोङले बताउनुभयो ।
राजधानीकै अस्पतालमा उपचार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयवासी आफ्नै ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुने भएपछि खुसी भएका छन् ।