मुगु, मङ्सिर २८ : मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित एक सय आठ जनालाई राहतसँगै सरसफाइ सामग्री वितरण गरिएको हो ।
सिविएम नेपालको आर्थिक सहयोग तथा आइएनएफ नेपाल मुगुको आयोजनामा छायाँनाथ रारा नगरपालिका वडा नं ४, ६, ७, १०, १२ का एक सय आठ जनालाई राहत सामग्री २५ केजी चामल, दुई केजी दाल, दुई केजी चिनी, नुन एक केजी, सोयाबिन एक केजी, मसला ८ं० ग्रामलगायत आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको सहयोगी संस्था आइएनएफ नेपाल मुगुले जनाएको छ ।
यसैबीच बाढीपहिरो पीडितलाई सरसफाइ सामग्री साबुन, काइँयो, नेलकटर, ऐनालगायत वितरण गरिएको छ । साथै २३ जना अतिविपन्न पहिरोपीडित बालबालिकाको शैक्षिक सुधारका निम्ति शैक्षिक सामग्री पनि वितरण गरिएको आइएनएफ नेपाल मुगुका परियोजना अधिकृत अर्पिता कार्कीले बताउनुभयो ।
उहाँका अनुसार छायाँनाथ रारा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले पहिरोपीडितका तथ्याङ्कका आधारमा घर गुमाएका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको हो । उक्त राहत छायाँनाथ रारा नगरपालिकामा मात्र नभई सोरु गाउँपालिकामा पनि पहिरोपीडित ६० जनालाई र खत्याड गाउँपालिकामा ६८ जनालाई सहयोग गरिने परियोजना अधिकृत कार्कीको भनाइ छ ।
मङ्गलबार छायाँनाथ रारा नगरपालिकाकाका प्रमुख विष्णुकुमार भामको उपस्थितिमा नगरपालिकाभित्रका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । साथै, अन्य गाउँपालिकामा पनि गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गरिने बताइएको छ । रु सत्र लाख बराबरको खाद्यान्न, सरसफाइ सामग्री र शैक्षिक सामग्री पहिरोपीडितलाई सहयोग गरिने आइएनएफ नेपाल मुगुले जनाएको छ ।