बेदकोट, मङ्सिर २५ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।
वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक प¥यो । उहाँले वडा कार्यालयमा अधयक्ष रवीन्द्रप्रसाद देवकोटालाई खोज्नुभयो । हिरादेवीले वडा अध्यक्षलाई भेट्नु भएन । अनि त्यहाँका अन्य कर्मचारीसँग वडाध्यक्षका बारेमा सोधीखोजी गर्नुभयो ।
अध्यक्ष भगतपुर क्षेत्रमा रहेको उहाँले थाहा पाएपछि अटो चढेर त्यही जानुभयो । “अध्यक्ष ज्यू सडकमा कुर्सी राखेर एउटा फाइल समातेर बस्नु भएको थियो, त्यहीँ मैले सिफारिस पत्रमा हस्ताक्षर गराए”, हिरादेवीले भन्नुभयो ।
कटानकी पुष्पादेवी ऐरीलाई पनि छोरीको छात्रवृत्तिको लागि सिफारिस बनाउनु थियो । उहाँले पनि वडा कार्यालयभन्दा पर अध्यक्ष भएको ठाउँमै पुगेर सेवा लिनुभयो । केही दिन यता भीमदत्त नगरपालिका–१८ को सेवा यसै गरेर सडकबाटै सम्पादन गर्ने गर्नुभएको छ, अध्यक्ष देवकोटाले । भीमदत्त नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्नामा बस्नुभएको हो ।
उहाँ कहिले पत्थरपुर त कहिले भगतपुरका बस्तीको सडकमा बसेर सेवा प्रवाह गरिरहनुभएको छ । “सडकमा बेस हाल्ने काम भइसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “थोरै मात्रै बजेट छुट्याइएको छ, त्यसैले बजेटको माग गर्दै दबाब स्वरुप धर्ना बसेको हो ।”
नगरपालिकालाई औपचारिक रुपमा बारम्बार बजेट माग गर्दा पनि कुनै वास्ता नगरिएकाले वडाको काम सडकबाट सम्पादन गर्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो । विगतमा सडकका लागि एक करोड ४९ लाख बजेट आउने गरेको थियो । यसपटक नगरपालिकाले एक करोड २७ लाख मात्रै दिएको छ ।
“सडक निर्माणको काम अन्तिम चरणमा छ, यो सडक सम्पन्न गर्न विगतको जस्तै बजेट मागेका थियौँ”, उहाँले भन्नुभयो, “तर नगरपालिकाले प्रर्याप्त बजेट दिएन, कटौती गरेर दियो ।” वडा कार्यालयबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरेर सडकमा धर्ना बसेर सडकबाटै सेवा दिइरहेको देवकोटा बताउनुहुन्छ । “कार्यपालिका बैठकमा यो माग कति पटक उठायौँ, उहाँहरू कुरा सुन्नुहुन्छ, निर्णय गर्दा बहुमतको आडमा एकलौटी अगाडि बढ्ने गर्नु भएको छ”, उहाँले भन्नुभयो ।
वडा कार्यालयको फाइल, रजिस्ट्रर बोकेर कार्यालय खुल्ने समयमा अध्यक्ष देवकोटा सडकमा बस्नुहुन्छ । कार्यालय समयसम्म सडकबाटै वडाको सेवा सम्पादन गर्ने उहाँका अचेल दैनिकी नै बनेको छ । पत्थरपुर, भगतपुर, गोबरियालगायत क्षेत्रको एक किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा छ ।
सोही सडकका लागि बजेटको माग गर्दै धर्ना बस्नु भएका अध्यक्ष देवकोटाले माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ । “आउँदो नगरसभाबाट सडक कालोपत्रेका लागि बजेट छुट्याइनुपर्छ, त्यसका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनुप¥यो”, उहाँले भन्नुभयो, “नभए आमरण अनसनमा बस्ने लगायत कार्यक्रममा जानुपर्ने हुन्छ ।”