काठमाडौँ, मङ्सिर २४ : दक्षिण एशियाली किसान सङ्गठनको तीन दिने सम्मेलनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्वमा ठूलो ह्रास आउने खतरा रहेको निष्कर्ष निकालेको छ ।
यही मङ्सिर २२ देखि आजसम्म काठमाडौँमा सञ्चालित सम्मेलनले जनताका खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर्न, किसानको जीवन र जीविकामा सुधार ल्याउन उनीहरुको आर्थिक रुपान्तरण, गुणस्तरीय बीउविजन मलखादको व्यवस्था गर्न माग गरेको हो ।
सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतबाट किसान आन्दोलनका ५० नेताहरु सहभागी थिए । सम्मेलनमा सहभागी प्रतिनिधिले कृषिमा वैदेशिक लगानी भित्र्याउने, अनुवंश परिवर्तन गरिएका खाद्य वस्तु भित्र्याउनेलगायत नीतिको विरोध गरेका थिए ।
आगामी दुई वर्षभित्र पर्यावरणीय कृषि उत्पादन लागू गर्नुपर्नेमा जोड दिइएको बैठकमा कृषि क्षेत्रको दीगो तथा किसानमुखी विकासका साथै खाद्य सम्प्रभुता लागू गर्न माग गरेको छ ।
नेकपा ९एकीकृत समाजवादी० निकट अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको सो सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधानबारे छलफल गरिएको थियो । अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले बैठकमा श्रीलङ्कामा भइरहेको आर्थिक मन्दीमा त्यहाँका किसानको समस्याका साथै पाकिस्तानमा जलवायु परिवर्तनका असरले गएको बाढीले घरवारविहीन भएका किसानका समस्या तथा सामूहिक रुपमा त्यसको समाधानबारे पनि छलफल गरिएको बताउनुभयो ।
सम्मेलनमा भारतीय किसान युनियनका नेता राकेश टिकेटले दक्षिण एशियाका किसानका समस्याबारे गहन रुपमा छलफल भएको बताउँदै कृषि अनुसन्धान, शिक्षा र प्रसारलाई एकीकृत रुपमा समेट्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका महासचिव प्रमेश पोखरेलले पुँजीवादी र नवउदारवादी अर्थ व्यवस्थामा कृषि क्षेत्रको प्रभावकारी विकास सम्भव नरहेकाले समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट यस क्षेत्रमा महिला, युवालाई आकर्षित गरी खाद्य सम्प्रभुता कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।