हसना भास्तिपुरले गर्‍यो एक अर्ब ३१ करोड निक्षेप सङ्कलन

  मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८-७९ मा रु एक अर्ब ३१ करोड ९७ लाख १४ हजार चार सय निक्षेप सङ्कलन गरेको छ ।

सोही अवधिमा संस्थाले रु एक अर्ब ४६ करोड २६ लाख ७५ हजार तीन सय दुई बराबर कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति रु एक अर्ब ६७ करोड ६६ लाख १० हजार पाँच सय १३ छ । संस्थाले सोही आवमा रु ७९ लाख ११ हजार सात सय ९५ बराबरको नाफा कमाएको छ ।

संस्थाले आज आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बजारमा देखिएको चुनौती र अवसरलाई मध्यनजर गर्दै कर्जा लगानी गर्दा ऋण नीतिअनुरुप प्रभावकारी तथा बढी उत्पादनमुखी क्षेत्रमा नै केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।

भाका नाघेका ऋणको अनुगमन कार्यलाई प्राथमिकतामा राखी नियमति अनुगमन गर्नुपर्ने, संस्थाको जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव साधारणसभामा व्यक्त गरिएको छ ।

संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले विषम अवस्थामा पनि संस्थाले गुणस्तरीयरूपमा काम गरेको बताउनुभयो । उहाँले संस्थालाई आगामी दिनमा अझै प्रभावकारी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया