मातृ तथा बाल स्वास्थ्यमा सुधार

  मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वोक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो ।

सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो । यता, सन् १९९६ मा पाँच वर्ष मुनिका बालबालिकाको प्रतिहजार जीवित जन्ममा एक सय १८ को मृत्यु हुने गरेको थियो ।

अहिले तुलनात्मकरुपमा घटेर प्रतिहजार जीवित जन्ममा ३३ मृत्यु हुन आएको छ । विगत २५ वर्षयता १२–१३ महिनाका बालबालिकामा आधारभूत खोपको दायरासमेत बढेको छ । सन् १९९६ मा ४३ प्रतिशत रहेको खोपको दायरा सन् २०२२ मा ८० प्रतिशत पुगेको छ ।

मन्त्रालयकी सचिव देवकुमारी अर्यालले सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले आगामी योजना तर्जुमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यसम्बन्धित योजना बनाउन यस सर्वेक्षणले मार्गदर्शकका रुपमा सहयोग गर्नेछ । सर्वेक्षणमा देखिएका चुनौती समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयको अन्तर समन्वय आवश्यक छ ।”

सर्वेक्षणले कुपोषण, शिशु मृत्युदर, बालबालिकामा पुड्कोपन र रक्तअल्पतामा देखिएको अवस्था सन्तोषजनक नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थमा प्रसूति गराउनेको सङ्ख्या कम रहेको छ । यस्तै परिवार नियोजन साधनको ७८ प्रतिशत माग रहेको छ भने ५७ प्रतिशत पूर्ति भएको छ भने २१ प्रतिशत माग अझै पूर्ति हुन सकेको छैन । रक्तअल्पता भएका बालबालिका ४३ प्रतिशत र महिला ३४ प्रतिशत रहेका छन् ।

पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । सबैभन्दा धेरै कर्णालीका बालबालिकामा पुड्कोपनको समस्या देखिएको हो । “कर्णालीमा ३३ प्रतिशत बालकालिकामा पुड्कोपनको समस्या देखिएको छ । यी बालबालिका दीर्घकालीन कुपोषणको समस्यामा छन्”, नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो, “अहिले चारमा एक जनामा पुड्कोपनको समस्या देखिनु विगतभन्दा घटेको हो तर सन्तोषजनक हैन ।”

तपाईको प्रतिक्रिया