५२ वर्षपछि लालपुर्जा

  मंसिर २३, २०७९

कपिलवस्तु, मङ्सिर २३ : कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन । शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख अजय थापाले बताउनुभयो ।

नापी कार्यालय तौलिहवा कपिलवस्तुले विसं २०२७ मा नापी गर्दा छुट भएका डिहब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख थापाले बताउनुभयो । साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि एक सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिनुभयो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारूले बताउनुभयो ।

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताउनुभयो । “सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ”, उहाँले भन्नुभयो ।

पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट बञ्चित हुँदै आएका थिए । नगरपालिकाले विसं २०७८ को चैत २३ गते एक सय ८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो ।

नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले जानकारी दिनुभयो । कपिलवस्तुमा विसं २०२६ देखि सुरु भएको गाउँ ब्लक जग्गा विसं २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ ।

तपाईको प्रतिक्रिया