इरानका पूर्व राष्ट्रपति खातामीद्वारा विरोध प्रदर्शनप्रति समर्थन

  मंसिर २१, २०७९

तेहरान,मङ्सिर २१ : इरानका पूर्वराष्ट्रपति मोहम्मद खातामीले महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध आन्दोलनलाई समर्थन गर्दै यसको मुख्य नारा ‘महिला, जीवन र स्वतन्त्रता’ राम्रो भएको बताउनुभएको छ ।

इरानमा इस्लामिक शरिया कानूनमा आधारित हिजाब पहिरनको नियमलाई उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको मृत्यु भएपछि करिब तीन महिनादेखि विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका अधिकारीहरूले यसलाई इरानको प्रमुख विरोधी संयुक्त राज्य अमेरिका, बेलायत र इजरायलसहित उसका सहयोगीहरूले उक्साएको ‘दङ्गा’ को रूपमा वर्णन गरेका छन् ।

सन् १९९७ देखि २००५ सम्म इरानको राष्ट्रपतिको रूपमा काम गरेका तर वर्षौंदेखि संस्थापनपक्षबाट चुप लागेर बसेका सुधारवादी खातामीले आन्दोलनलाई समर्थन गर्दै आफ्नो अभिव्यक्ति दिनुभएको हो ।

प्रदर्शनमा सुनिएको ‘महिला, जीवन, स्वतन्त्रता’ भन्ने मुख्य नारालाई ७९ वर्षीय नेताले महिलाको स्वतन्त्र जीवनका लागि ‘सुन्दर सन्देश’ का रुपमा व्याख्या गर्नुभएको छ ।

विद्यार्थी दिवसको पूर्वसन्ध्यामा मङ्गलबार आईएसएनए समाचार संस्थालाई उद्धृत गर्दै उहाँले भन्नुभएको छ, “स्वतन्त्रता र सुरक्षा एकअर्काविरुद्ध राख्न हुँदैन ।” उहाँले भन्नुभयो, “सुरक्षा कायम गर्न स्वतन्त्रतालाई कुल्चिनु हुँदैन र स्वतन्त्रताका नाममा सुरक्षालाई नजरअन्दाज गर्नु हुँदैन ।”

गत सेप्टेम्बर १६ मा हिरासतमा अमिनीको मृत्यु भएपछि इरानमा भएको विरोध प्रदर्शनमा अग्रङ्क्तिमा रहेका विद्यार्थीहरूको गिरफ्तारीविरूद्ध पनि खातामीले आवाज उठाउनुभएको थियो ।

उहाँले भन्नुभयो, “प्रतिबन्धलगाउँदा अन्ततः विश्वविद्यालय र समाजको स्थिर सुरक्षा सुनिश्चित हुन सक्दैन ।” सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदीनेजादको पुनः निर्वाचनपछि भएको व्यापक विरोध प्रदर्शनपछि खातामीलाई सञ्चारमाध्यममा आउन रोक लगाइएको थियो ।

इरानको सर्वोच्च सुरक्षा निकाय सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले शनिबार दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । गत हप्ता एक इरानी जनरलले अशान्तिका कारण दर्जनौं सुरक्षाकर्मीसहित ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताउनुभएको थियो ।

नर्वेस्थित गैरसरकारी संस्था इरान ह्युमन राइट्सले नोभेम्बर २९ मा राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा फौजको कारबाहीमा कम्तीमा ४४८ जनाको मृत्यु भएको जनाएको थियो । पक्राउ पर्नेमा इरानका चर्चित कलाकार र फुटबलरसहित हजारौं रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया