‘कर्तव्यनिष्ट भएर काम गर्न आग्रह’

  मंसिर २०, २०७९

सोलुखुम्बु, मङ्सिर २० : नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आज निरीक्षणका क्रममा उहाँले कार्यरत प्रहरी अधिकृत तथा जवानलाई नियमावलीमा भएका व्यवस्थालाई कडाइका साथ पालना गर्दै कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिनुभएको हो ।

व्यक्तिगत लाभभन्दा सङ्गठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, अनुशासित र उत्तरदायी तबरबाट पूरा गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सिंहले जोड दिनुभयो । प्रहरी राज्यको अङ्ग भएकाले त्यसको सही कार्य सम्पादनबाट नागरिकले न्याय पाउने उहाँको भनाइ छ ।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई सहज बनाउन पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको निरीक्षण पश्चात् उहाँ यहाँ आउनुभएको हो । फाप्लुबाट हेलिकप्टरमा लुक्ला हुँदै उहाँ आजै काठमाडाँै फर्किनुभएको छ ।

तपाईको प्रतिक्रिया