नेपाली नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

  मंसिर १८, २०७९

काठमाडौँ, मङ्सिर १८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुने नेपाली जनशक्तिलाई रोक्नुपर्ने बताउनुभयो ।

“देशले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन, रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्छ”, उहाँँले भन्नुभयो ।

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरुभन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० जनाले श्रम स्वीकृति लिएर विदेश गएको उहाँको भनाइ छ ।

उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवासुविधा नपाउने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकको नियमन गर्न नसकेको बताउनुभयो । गत तीन वर्षको तथ्याङ्कअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको उहाँको भनाइ थियो ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने बताउनुभयो । स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको मन्त्री कुँवरको भनाइ थियो ।

तपाईको प्रतिक्रिया