चितवन, मङ्सिर १८ : पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ । कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मखी सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो ।
गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ६ महिनाअघि गैँडा मरेको अनुमान गरिएको छ ।
गैँडाको खाग र तीन खुर नभेटिएको उहाँले बताउनुभयो । खाग काटिएको अनुमान गरिएको छ । गैँडाको खप्पर र बाँकी रहेको नौ खुरलाई सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर गैँडाको शव परीक्षण गरेको उहाँले बताउनुभयो । प्राकृतिक कारणले मरेको या चोरी शिकारीका कारण मारिएको भन्ने अध्ययनपछि जानकारी आउने उहाँले बताउनुभयो ।