गौशाला निर्माणमा तीव्रता

  मंसिर १७, २०७९

महेन्द्रनगर (धनुषा),मङ्सिर १७ : छाडा चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (काञ्जी हाउस ) निर्माणको कार्य अघि बढाएको छ ।

उपमहानगरपालिकाको वडा नंं १२ मा निर्माण हुने सो ठाउँको निर्माणपछि जनकपुरधाममा सडकको व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर सोही जग्गामा गौशालाको निर्माण भइरहेको नगरप्रमुख मनोजकुमार साहले बताउनुभयो ।

गत साउनमा नगरप्रमुख साह, उपप्रमुख किशोरी साह तथा वडाध्यक्षले संयुक्तरूपमा गौशालाको शिलान्यास गर्नुभएको थियो । रु एक करोड लागतमा निर्माण हुने गौशाला निर्माणअन्तर्गत पहिलो वर्षमा छाडा चौपाया राख्ने घर, चौपायाका लागि आवश्यक पर्ने भुस तथा पराल राख्ने घर तथा गौशालाको रेखदेख गर्ने कर्मचारी बस्ने घरको निर्माण गरिने नगरप्रमुख साहले जानकारी दिनुभयो ।

गौशाला निर्माणले नगर क्षेत्रमा जथाभावीरूपमा छाड्ने चौपायाको नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि मद्दत पुग्ने प्रमुख साहले बताउनुभयो । गोबर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम लागतमा किसानलाई मल बिक्री गर्ने सोचमा उपमहानगरपालिका रहेको छ ।

तपाईको प्रतिक्रिया