काठमाडौँ, मङ्सिर १७ : अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले बाँके नेत्रहीन सङ्घलाई रु २५ हजार सहयोग प्रदान गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर अर्थात् मङ्सिर १७ का अवसरमा आज नेपालगञ्जमा सो सहयोग हस्तान्तरण गरिएको हो । यसैगरी सोही दिवसका दिन शान्ति समाज पाल्पा शाखाले पाल्पाका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र नवलपुर शाखाले गैँडाकोटस्थित अपाङ्ग जीवन विकास संस्थामा खाद्यान्न वितरण गरेको समाजका महासचिव रामकृष्ण बरालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी शान्ति समाज रुपन्देही शाखाले देवीनगरस्थित नेपाल अपाङ्ग आश्रमका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अपाङ्गमैत्री समाज निर्माण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शान्ति समाज केन्द्रीय कार्यसमितिको १५१ औँ बैठक मङ्सिर १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । बैठकको सेरोफेरोमा नेपालगञ्जका छ वटा शैक्षिक प्रतिष्ठानमा लागुऔषध÷मदिरा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मङ्सिर १६ गते नेपालगञ्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरिएको थियो ।
यसैगरी विश्व शान्तिको कामना गर्दै नेपालगञ्जको त्रिभुवन चोकमा दीप प्रज्ज्वलन र नेपालगञ्जमै बहुभाषिक शान्ति काव्य प्रवाहसमेत आयोजना गरिएको थियो । यस अवसरमा आज बिहान नेपालगञ्जस्थित श्मसान भूमिमा शान्ति समाजको आयोजनामा वृक्षरोपण गर्नुका साथै रानी तलाउमा साङ्केतिक तबरमा सफाइ कार्यक्रम गरिएको थियो ।