निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

  मंसिर १७, २०७९

काठमाडौं, मङ्सिर १७ : युवा बौद्ध समूह, काठमाडौँ र लुम्बिनी नेपलीज बुद्ध धर्म सोसाइटी, युकेको संयुक्त आयोजनामा भएको ‘मानसिक स्वास्थ्यका लागि बुद्ध शिक्षा’ विषयक निबन्ध प्रतियोगिताका विजयी लेखकहरुलाई आज यहाँ पुरस्कार प्रदान गरियो ।

चौध जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा पुष्प रत्न तुलाधर प्रथम, दीना कंसाकार द्वितीय तथा जमुना गोसाइ तृतीय घोषित भएका थिए भने सान्त्वना पुरस्कार सरोज कुमार बज्राचार्यले प्राप्त गर्नुभएको थियो । पुरस्कारको राशि क्रमशः रु आठ हजार, रु छ हजार, रु चार हजार र रु दुई हजार रहेको छ ।

विजेताको घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै बुद्ध विहार प्रमुख भिक्षु कोडण्य महास्थविरले निरोगी रहन भगवान् बुद्धले इन्द्रिय संयम, भोजन मात्रा ज्ञान र जागरुकतालाई जोड दिनु भएको बताउनुभयो । उहाँका अनुसार बुद्ध शिक्षाको सार नै जीवन जीउने कला हो ।

युवा बौद्ध समूहका सल्लाहकार डा. त्रिरत्न मानन्धरले युवा पिंढीमा लेखन कला विकास होस् भन्ने उद्देश्य राखेर बेलायतका धर्मानुरागी मित्रहरुको सहयोगमा समूहले हरेक दुई वर्षमा जीवनोपयोगी विषयहरु दिएर निबन्ध प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सोसाइटीका संस्थापक अध्यक्ष अमृत रत्न स्थापितले हरेक व्यक्तिमा मानसिक समस्या रहने तथ्यलाई ध्यानमा राखेर अहिले पश्चिमा मुलुकमा विपश्यना ध्यानलाई उपचारको एक विधिको रुपमा मान्यता दिन थालिएको बताउनुभयो ।

प्रतियोगितामा सामेल निबन्धहरुमाथि निर्णायकहरु प्रा. त्रिरत्न शाक्य, अमिता धाख्वाः र डा। त्रिरत्न मानन्धरले समीक्षा गर्नुभएको थियो । समूहका अध्यक्ष मदन बहादुर तुलाधरको सभापतित्वमा भएको उक्त समारोहमा विजयी चारै प्रतियोगीहरुले आ–आफ्नो अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया