मोरङ, मङ्सिर १६ : नेपाल पत्रकार महासङ्घ मोरङले आज यहाँ दुई सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । महासङ्घको मोरङको उर्लाबारीमा आज आयोजित वार्षिक साधारणसभामा प्रतिभा पुरस्कारबाट किशन शाही र ललित भट्टराईलाई नगद रु १५ हजारसहित सम्मान गरिएको छ ।
पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष अध्यक्ष धर्मेन्द्र झा, मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालले संयुक्त रुपमा सञ्चार डायरीको विमोचन गर्नुभयो ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष विष्टले पत्रकार द्वयलाई सम्मान गर्दै सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति समाजबाट गम्भीर रुपमा प्रश्न उठ्ने गरेकोमा साधारणसभामार्फत समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
राससका कार्यकारी अध्यक्ष झाले स्थानीय तहमा विकेन्द्रीकरण कार्यान्वयनमा देखिएका समस्या बुझेर समाचार सङ्कलन गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारितामा सम्पूर्ण कुरा विषयवस्तु नै हो, समाचार उपभोक्ताका पृष्ठपोषणलाई ध्यान दिनु आजको आवश्यकता हो ।”
महासङ्घका मोरङ अध्यक्ष सञ्जिव खनाल, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, महासङ्घका प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल र नेपाल प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले नातावाद कृपावाद र भ्रष्टाचारको अन्त्य गरेमा मात्र मुलुकको विकासको गति अगाडि बढ्ने धारणा राख्नुभयो । साधारणसभाको बन्द सत्रमा २० बुँदे घोषणापत्र सर्वसहमतिले पारित गरिएको छ ।