राष्ट्रिय परिचयपत्रसम्बन्धी गोष्ठी सम्पन्न

  मंसिर १५, २०७९

गौर, मङ्सिर १५ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा ‘राष्ट्रिय परिचयपत्र’ सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।

कुनै पनि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाउनबाट बञ्चित हुन नपरोस् भने उद्देश्यले गोष्ठी आयोजना गरिएको विभागका निर्देशक सागरमणि पाठकले बताउनुभयो । गोष्ठीमा जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्याप्रसाद राय यादवले जिल्लाका सबै स्थानीय तहलाई कार्यक्रम सफल बनाउन अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको गोष्ठीमा बौद्धी माई नपाका नगरप्रमुख प्रदीप यादवले जनप्रतिनिधिको तर्फबाट बोल्दै कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोष्ठीमा जिल्ला प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्की, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अन्य कर्मचारी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया