डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी

  मंसिर १४, २०७९

मुस्ताङ, मङ्सिर १४ : मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल शुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान उपलब्ध गराइएको हो ।

दक्षिण एशियाली महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा जोेमसोम सदरमुकाम आसपासका महिला उद्यमीको बाक्लो उपस्थिति थियो । पहिलोपटक मुस्ताङमा आयोजना भएको विद्युतीय (डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्थाका साथै महिलामाथि हुने लैङ्गिक विभेदसम्बन्धी अनुसन्धानले मुस्ताङका महिला दिदीबहिनीलाई राहत मिलेको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताउनुभयो ।

सडक सञ्जालले नछोएको विकट गाउँबाट समेत महिला उद्यमीको उपस्थिति रहेको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, बागलुङ र आजदेखि मुस्ताङ गरी पाँचवटै जिल्लामा सबै महिला उद्यमीको अनुसन्धान सुरु भएको सिनियर अनुसन्धानकर्ता रितेश ठाकुरले बताउनुभयो । डिजिटल प्रविधिको आधुनिक युगमा सञ्चारमाध्यमबाट कोही टाढा नभएको ठाकुरले उल्लेख गर्नुभयो ।

सबैको हातहातमा मोबाइल र घरघरमा टिभी, ल्यापटपजस्ता सञ्चारमाध्यम हुने गरेको र त्यसलाई नै भरपूर प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । आफूले उत्पादन गरेका सामग्रीलाई सहजै विज्ञापन गर्न र बजार विश्वभरि फैलाउन सकिने ठाकुरले बताउनुभयो ।

आधुनिक युगमा पहुँच निर्धारण गर्न महिला स्वयं अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मुस्ताङका महिला दिदीबहिनीको आर्थिक स्थिति सुधार गर्न र वित्तीय कारोबारमा अग्रसर हुन जरुरी छ ।”

महिला उद्यमी सङ्घ जिल्ला कमिटी मुस्ताङकी अध्यक्ष सुकुन रसाइलीले महिला उद्यमीलाई डिजिटल प्रविधिसँग जोडेर व्यवसायी सञ्चालन गरिनुपर्ने बताउनुभयो । उहाँले उद्यमीका लागि सहज वातावरण सिर्जना गर्दै जिल्लाको अथाह स्रोत र साधनलाई बजारीकरण गर्न पहल गरिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया