टर्की र सिरियाबीचको समस्या समाधानका लागि ‘राजनीतिक’ रूपमा सहयोग गर्ने इरानको प्रस्ताब

  मंसिर १४, २०७९

तेहरान, मङ्सिर १४ : सिरिया र टर्की तनाबलाई कम गर्न आफु तयार रहेको इरानले बुधबार जनाएको छ ।

सिरियासँगको साझा सीमामा टर्कीको सुरक्षा चासोलाई तेहरानले बुझेको र दुई पक्षबीचको समस्यालाई ‘राजनीतिक’ रूपमा समाधान गर्न सहयोग गर्न जुनसुकै पहल लिन इरान तयार रहेको इरानका विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहियानलले बताउनुभएको छ ।

विदेशमन्त्री अब्दोल्लाहियानले टर्कीका समकक्षी मेभलुत कावुसोग्लुसँग मङ्गलबार साँझ भएको टेलिफोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

दुई मन्त्रीले टर्की र सिरियाबीचको साझा सीमामा पछिल्लो घटनाक्रम र सैन्य भिडन्तका बारेमा छलफल गरेको इरानको मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

उहाँले भन्नुभयो, “जमीनी सैन्य अभियानको सहारा लिँदा समस्या समाधान गर्न असफल हुनुका साथै क्षति पनि निम्त्याउँछ र यसले स्थितिलाई थप जटिल बनाउँछ । उहाँले अङ्कारा र दमासकसबीचको सुरक्षा वार्ताको निरन्तरताको माध्यमबाट टर्कीको सुरक्षा चिन्ता हटाउनुपर्नेमा जोड दिनुभयो ।

उक्त अबसरमा टर्कीका विदेशमन्त्रीले इरानको रचनात्मक भूमिकाको प्रशंसा गर्दै अङ्कारा र तेहरानबीच यस्तो परामर्श जारी राख्नुपर्ने बताउनुभएको थियो ।

गत नोभेम्बर १३ मा मध्य इस्तानबुलको व्यस्त क्षेत्रमा भएको बम आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लडाकू समूह र सिरियाली जनसुरक्षा एकाइ (वाईपीजी) लडाकू समूहको सिरियाली सहयोगी सिरियाली डेमोक्र््याटिक फोर्सेज (एसडीएफ) का छ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अङ्काराले आरोप लगाएको छ ।

टर्कीले मङ्गलबार उत्तरी सिरिया र इराकमा स्थलगत कारबाहीको सम्भावना रहेको सङ्केत गरेको थियो । टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले मङ्गलबार भन्नुभयो, “टर्कीको सशस्त्र बलको सञ्चालनको समय, मापन र सीमाहरू अङ्काराले निर्धारण गर्दछ । कालिनले आफ्नो देशले दमासकससँग निरन्तर संवाद कायम राखेको छ ।”

तपाईको प्रतिक्रिया