पाल्पामा असल राजनीतिक संस्कारको अभ्यास

  मंसिर १४, २०७९

रामपुर (पाल्पा), मङ्सिर १४ : पाल्पाका निर्वाचित तथा पराजित उम्मेदवार यतिबेला गाउँगाउँमा मतदाता भेटघाटमा व्यस्त बनेका छन् । यही मङ्सिर ४ गतेको निर्वाचनपश्चात् विजयी र पराजित उम्मेदवारहरू आफूलाई मतदान गरी सहयोग गर्ने मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका हुन् ।

निर्वाचनमा विजयी या पराजित उम्मेदवार चुनाव सकिएपछि गाउँ नफर्कने गुनासो बढ्न थालेपछि मतदातालाई निर्वाचनपश्चात् घरदैलोमा पुगेर धन्यवाद दिँदै निर्वाचित उम्मेदवारले आफूले गरेका वाचा पूरा गर्ने र पराजित उम्मेदवारले यहाँको विकास निर्माणमा विजयी उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनअघि मात्र जनताको घरदैलोमा नभई हरेक समय जनताको सुखदुःखमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद दिन आफ्नो कार्यक्षेत्रमा पुग्ने गरेको पाल्पा क्षेत्र नं १ (१) का प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवार राजुप्रसाद श्रेष्ठले बताउनुभयो । नेकपा (एमाले) का उम्मेदवार उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

“निर्वाचनपश्चात उम्मेदवार जनतासामु नपुग्दा उनीहरूका समस्या सधैँ यथावत् नै रह्यो, निर्वाचनमा विजयीपश्चात एक ठाउँमा नारा जुलुस गरेर बस्नुभन्दा सबै जनताको घरघरमा पुगेर खुसी साट्ने गरेको छु, मेरो कार्यकालमा जनमतको कदर गरेर काम गर्नेछु”, प्रदेशसभा सदस्य श्रेष्ठले भन्नुभयो ।

राजनीतिक क्षेत्रमा मतदाताको वितृष्णा बढ्दै गएको छ । जनतासँग नेतृत्व घुलमिल नहँुदा सधैँ गुनासाका आवाज आउने गरेका छन् । हिजोआज भने जनताको धेरै गुनासालाई सम्बोधन गर्दै विजयी या पराजित उम्मेदवार घरदैलोमा निर्वाचन सम्पन्नपश्चात जान थालेका छन् । चुनावपश्चात पहिला गाउँगाउँमा भोजभतेर हुन्थ्यो । राजनीतिक चेतना र संस्कारको विकासले अहिले यस्ता कार्य खासै देखिँदैन ।

पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारायणप्रसाद आचार्यले समयतालिका तयार पारेर आफ्नो कार्यक्षेत्रका मतदातासमक्ष धन्यवाद दिँदै घरदैलोमै पुगेर खुसियाली बाँड्नुभएको छ । आचार्य एमालेबाट निर्वाचित हुनुभएको हो ।

“नेतृत्व चुन्ने अधिकार जनतामा छ, जनताले चुनेको नेतृत्वले उनीहरूको मनोभावना बुझेर गाउँको विकासमा तल्लीन हुनुपर्छ, मैले आफ्नो कार्यक्षेत्रमा जनताका गुनासा र समस्यालाई सम्बोधन गरेर काम गर्ने प्रतिबद्धता जनाएअनुसार नै गर्नेछु”, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आचार्यले भन्नुभयो ।

पराजय भोगेका स्वतन्त्र तथा दलका उम्मेदवारहरूले पनि आफ्नो कार्यक्षेत्रमा पुगेर आफूले प्राप्त गरेको मतले राजनीतिक क्षेत्रमा थप ऊर्जा मिलेको बताउँदै अबका दिन जनताकै सुखदुःखमा रहने प्रतिबद्धता जनाइरहेका छन् ।

प्रतिनिधिसभा पाल्पा क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत सामाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेयले निर्वाचनमा पराजय भोगे पनि गाउँठाउँको विकासमा सधैँ तल्लीन रहने बताउनुभयो ।

निर्वाचनमा मतदान गरेर सहयोग गर्ने मतदातालाई धन्यवाद दिन उहाँ घरदैलो भेटघाटमा हुनुहुन्छ । पराजय भोगे पनि विजयी उम्मेदवारलाई आफूले सहयोग गर्ने र जनतासँगै रहेर विकास निर्माण, विविध समस्यामा हातेमालो गरेर काम गर्ने पाण्डेयले बताउनुभयो ।

“निर्वाचन लोकतान्त्रिक प्रणालीमा जित हार स्वाभाविक हुन्छ, चुनावी परिणामको समीक्षा गर्दै मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेको छु”, उहाँले भन्नुभयो, “पाल्पाको विकास र समृद्धिका लागि हारे पनि सधँै सक्रिय भएर लाग्नेछु ।”

पराजित भएर पनि गाउँगाउँ पुगेको देख्दा धेरैले उहाँबाट असल राजनीतिक संस्कार सिक्नुपर्ने जनाएका छन् । पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेय एमालेका ठाकुरप्रसाद गैरेसँग तीन हजार नौ सय ६६ मतान्तरले पराजित हुनुभएको हो ।

गैरेले २७ हजार आठ सय १७ मत ल्याएर पहिलो पटक संसद्को यात्रा सुरु गर्ने अवसर प्राप्त गर्नुभएको छ । गैरे एमालेमा रहेर तीनदशकदेखि अनवरतरुपमा लाग्नुभएको छ ।

पराजित पाण्डेयले २३ हजार आठ सय ५१ मत पाउनुभएको छ । पाण्डेय विसं २०५१ देखि हालसम्म पाँचपटक उम्मेदवार भएकामा चारपटक निर्वाचित भई संसद्मा नेतृत्व गरिसक्नुभएको छ । विसं २०६४ को निर्वाचनमा भने नेकपा माओवादीकी उम्मेदवार लीला सोमैसँग पराजित हुनुभएको थियो ।

पाल्पा क्षेत्र नं २ (१) का प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवार वीरबहादुर रानाले जनतामाझ पुगेर निर्वाचनअघि गरेका वाचा र प्रतिबद्धता आफूले पूरा गर्ने बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।

उहाँ भन्नुहुन्छ, “जनताको समस्या बुझेर काम गरिएन भने राजनीतिक यात्रा सफल हँुदैन, यसभन्दा अघि मैले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेर काम गर्ने अवसर पाउँदा जनताको समस्यामा नै तल्लीन रहेँ, जनताको मतलाई सही सदुपयोग गर्दै काममा तल्लीन रहनेछु ।”

पहिला निर्वाचन जित्नेले तडकभडक गरेर विजयी ¥याली, नारा जुलुस गर्ने प्रचलन थियो । पराजित उम्मेदवार आफ्नै काममा फर्कने गरेकाले मतदाताले निर्वाचनपश्चात विजयी तथा पराजित उम्मेदवारसँग आफ्ना गुनासा राख्ने अवसर पाउँदैनथे ।

हरेक निर्वाचनमा मात्रै उम्मेदवार, दलका नेता कार्यकर्ता गाउँ पुग्दा मतदाताले विगतका निर्वाचनका प्रतिबद्धता, गाउँका समस्या, आफूले चुनेर पठाएको प्रतिनिधि गाउँ नफर्कने गुनासा राख्ने गरेकाले पछिल्लो समय विजयी तथा पराजित उम्मेदवार गाउँमा पुगेर मतदातासमक्ष भेटघाट गर्ने संस्कारको सुरुआत भएको छ ।

तपाईको प्रतिक्रिया