मतदान गर्दै खेतमा पुगे कृषक

  मंसिर ०४, २०७९

नवलपुर, मङ्सिर ४ : प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनसँगै अहिले यहाँका कृषकलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिका–१० का कृषकहरु मतदान गरेसँगै धानखेती स्याहार्नका लागि खेतमा पुगेका छन् ।

कावासोती–१० मगरकोटका रामबहादुर महतोले बिहानै मतदान गरेर धान थन्काउन खेतमा आएको बताउनुभयो । “आज बिहानै लाइन बसेर मतदान गरेँ”, उहाँले भन्नुभयो, “मतदान गरेसँगै खेतमा आएर धानबाली थन्काउने काममा लागेको छु ।” मतदानसँगै वर्षदिन खाने धानबाली भित्र्याउन पाउँदा उहाँ खुसी देखिनुहुन्छ । “धान खेती भने वर्षदिन खाने अन्न हो ।

तर मतदान गर्ने दिन पाँच वर्षमा एकपटक मात्रै आउँछ”, महतोले भन्नुभयो, “धान स्याहार्न लागेर मतदान गर्न गइएन भने विकासको काम पाँच वर्ष पछाडि धकेलिन सक्छ ।” दुई दिनअघि काटेको धानको कुनिउँ बनाउन खेतमा पुगेको बताउनुभयो ।

सोही स्थानकी धनमाया सारु पनि काटेको धान उठाउन व्यस्त हुनुहुन्छ । कावासोती–१० स्थित जनता प्राविधिक ९टेक्निकल० विद्यालय मतदान केन्द्रमा मतदान गरेर उहाँ खेतमा पुग्नुभएको हो ।

“पाँच वर्षमा आउने पर्वमा सहभागी भएँ, आफ्नो जनप्रतिनिधिले आफैँले चुन्ने कुम्भ मेलामा सहभागी हुनै प¥यो नि १”, सारुले भन्नुभयो, “मतदानसँगै आफूले वर्षभरि खाने अन्नबाली पनि थन्काउनुप¥यो ।”

खेतमा धान काट्ने तथा भित्र्याउने हतार भएको भन्दै सारुले पालैपालो मतदान गर्न गएको बताउनुभयो । “आज धान उठाउने मेलो छ, उता मतदान पनि छ”, सारुले भन्नुभयो, “काम रोक्न पनि भएन, मतदान पनि गर्न प¥यो ।

त्यसैले हामी साथीहरू मिलेर पालैपालो भोट हालेर आउँदै धान उठाउँदै गर्यौँ ।” कृषकहरू मतदान गर्दै खेतमा अन्नबाली भित्र्याउन पुगेका थिए भने यहाँका युवा मतदातासमेत मतदानपछि निकै उत्साही देखिएका थिए ।

मध्यविन्दु–३ ब्रह्मस्थानका मतदाता ताराप्रसाद पोखरेल पहिलोपटक मतदान प्रक्रियामा सहभागी भएको बताउनुहुन्छ । “मेरो मतदाता सूचीमा नाम पनि थियो ।

भोट हाल्ने बेला विदेशमा भएकाले मतदान प्रक्रियामा सहभागी हुन पाएको थिइनँ”, पोखरेलले भन्नुभयो, “यसपालि भने मतदानको तीन दिनअघि घर आइपुगेँ र आज मतदान गर्ने अवसर पाएँ ।” पहिलोपटक मतदानमा सहभागी हुन पाउँदा खुसीको सञ्चार भएको पोखरेलको भनाइ छ ।

“हामीले हाम्रा प्रतिनिधि चुनेर पठाउने दिनमा आफूलाई पनि सहभागी गराउन पाउँदा निकै खुसी लागेको छ”, पोखरेलले भन्नुभयो, “निर्वाचित भएर जाने जनप्रतिनिधिहरूले युवामैत्री ऐन, कानून निर्माण गरेर युवालाई विदेसिनबाट रोक्नुपर्छ ।” स्वदेशमा नै रोजगारीको अवसर सिर्जना भएको अवस्थामा युवाहरू विदेश पलायन हुने क्रम घट्ने पोखरेलको भनाइ छ ।

“बेरोजगार युवाहरूलाई सीप सिकाउने र उनीहरूलाई यहीँ नै अवसरको सिर्जना गर्नतर्फ सरकार लाग्नुपर्छ”, पोखरेलले भन्नुभयो, “त्यसका लागि युवाको समस्या बुझ्ने र युवाहरूको भावनाको कदर गर्ने जनप्रतिनिधिले जित्नुपर्छ ।”

तपाईको प्रतिक्रिया