रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड

  मंसिर ०३, २०७९

काठमाडौँ, मङ्सिर ३ : नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ निटफेस्ट २०२२ ले अग्रिम कार्यक्रमस्वरूप अग्रजसँग अन्तक्र्रिया गरेको छ। महोत्सव सुरु हुनु आठ दिनअघि ‘म त लालीगुराँस भएछु’ शीर्षकमा निटफेस्टले अग्रज रङ्गकर्मीहरूसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, सङ्घर्ष र तात्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो।

नेपाली रङ्गमञ्चको तीन पुस्ताबीचको भलाकुसारीका रूपमा गरिएको कार्यक्रममा अग्रज रङ्गकर्मीहरू पुष्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमालसँग रङ्गकर्मी सरिता गिरीले कुराकानी गर्नुभएको हो। तेस्रो पुस्ताका समकालीन रङ्गकर्मीहरू उहाँहरूका अनुभव र सङ्घर्षलाई श्रोताका रूपमा सहभागी हुनुहुन्थ्यो।

अभिनेता तथा डबली थिएटरका संस्थापक पुष्कर गुरुङले अहिले वर्तमान रङ्गमञ्चमा आफ्नो सक्रियता पुस्ता हस्तान्तरणका लागि भइरहेको बताउनुभयो। त्यस्तै रङ्गकर्मी विजय विस्फोटले रङ्गकर्मीको मूल्याङ्कन भनेको उनको कामले गराउने बताउनुहुँदै “देशले अझै पनि रङ्गकर्मी चिनिरहेको छैन, यहाँ रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ,” भन्नुभयो। उहाँले थिएटर ‘कस्मेटिक’ बन्दै गएको दाबी गर्दै चिन्ता व्यक्त पनि गर्नुभयो।

अभिनेता, निर्देशक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रङ्गमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाउनुभयो। “कुनै बेला आफूले जन्माएका कलाकारसामु यसरी नेपाली रङ्गमञ्चको अनुभव बाँड्न पाउनु आफू भएको अनुभूति भइरहेको छ,” उहाँले भन्नुभयो।

यही मङ्सिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तक्र्रिया, कला प्रस्तुति हुनेछन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया