ओमानी ट्याङ्करमा आक्रमणका लागि इरानी उक्साहट : इजरायली अधिकारी

  कार्तिक ३०, २०७९

जेरुसेलम, कात्तिक ३० : ओमानको तटीय क्षेत्रमा एक ट्याङ्करमा भएको आक्रमण ‘इरानको उक्साहट’ को परिणाम भएको र यसको उद्देश्य कतारमा विश्वकप सुरु हुनुअघि ‘वातावरण बिगार्ने’ रहेको एक इजरायली अधिकारीले बुधबार एएफपीसँग बताएका छन् ।

नाम नबताउने शर्तमा ती अधिकारीले भने, “युक्रेनमा प्रयोग गर्नका लागि रूसलाई इरानले बेचेको वारहेडले सुसज्जित मानवरहित विमान ड्रोन शाहेद १३६ द्वारा ओमनी तटीय क्षेत्रमा ट्याङ्करमाथि आक्रमण भएको भेटिएको छ ।”

इजरायली अधिकारीले इजरायली अर्बपति इदान ओफरको स्वामित्वमा रहेको ट्याङ्करमा भएको आक्रमण इजरायलविरुद्ध ‘इरानी विजय’ भएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । “यो इजरायली ट्याङ्कर होइन,” ती अधिकारीले भने ।

इरान र इजरायल कटु शत्रु हुन् र दुई शक्तिराष्ट्रबीच ‘छायाँ युद्ध’ का कारण दुवै पक्षका पानीजहाजमाथि आक्रमणको लहर चलेको छ, जसमा उनीहरूले एकअर्कालाई दोष दिएका छन् ।

सन् २०२१ को जुलाई २९ मा ओमानको समुद्री तटबाट उडिरहेको एमभी मर्सर स्ट्रिटमा इजरायलसँग जोडिएको ट्याङ्करमा भएको ड्रोन आक्रमणमा एक पूर्व बेलायती सैनिक र एक रोमानियाली नागरिकको मृत्यु भएको थियो ।

तेहरानले उक्त आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया