सिनेमाघरमा बलिउडका दुईसहित तीन चलचित्र

  कार्तिक २६, २०७९

काठमाडौँ, कात्तिक २६ : नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। स्वयम्भू, काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा चलचित्रको छायाङ्कन गरिएको छ।

राजश्री प्रोडक्सनको निर्माण रहेको चलचित्र सुरज बडजात्याले निर्देशन गर्नुभएको हो। मित्रताको कथामा बनेको चलचित्रमा अमिताभ, बोमन, अनुपम, निनासँगै परिणीति चोपडा, डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसन प्रमुख भूमिकामा देखिनुभएको छ।

त्यस्तै बलिउडको अर्को चलचित्र ‘रामसेतु’ तथा हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर’ पनि आजैबाट  प्रदर्शनीमा आएको छ। गत साता नै नेपालमा प्रदर्शन हुने भनिए पनि सेन्सर अनुमति नपाउँदा चलचित्र ‘रामसेतु’ प्रदर्शन हुन सकेको थिएन। चलचित्रमा अक्षय कुमार, ज्याक्लिन फर्नान्डिज र नुसरत भरुचाको अभिनय रहेको छ। अभिषेक शर्मा निर्देशित चलचित्रलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गर्नुभएको हो।

मार्भल स्डुडियोको हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ रायन कुगलरले निर्देशन गर्नुभएको हो। चलचित्रमा लेटिटिया राइट, लुपिता न्योँग, दानाई गुरिरा र विन्स्टन ड्युकको अभिनय छ।

तपाईको प्रतिक्रिया