गोरखा, कात्तिक १३ : पूर्वप्रधानप्रधामन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।
चुनावी अभियानअन्तर्गत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नुभएका डा भट्टराईले आज मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताउनुभयो ।
“प्रत्येक मान्छेले सपना देखेको हुन्छ, मेरो पनि गोरखालाई विकासमा नमूना बनाउने एउटा सपना थियो”, उहाँले भन्नुभयो, “मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अवसरसमेत पाए, गोरखामा विकास निर्माणका पूर्वाधार सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम उहाँले (प्रचण्ड)ले पूरा गुर्नहुन्छ ।”
पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रचण्डलाई गोरखाबाट चुनाव लडाउने विषय आफ्नो पहिलेदेखिको चाहना भएका बेला अन्य दल र गोरखाका जनताले चाहेकाले अहिले राम्रो अवसर मिलेको बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका डा भट्टराईले गोरखामा अधुरा रहेका पूर्वाधार निर्माणको काम आफूले छोडिसकेपछि भताभुङ हुन्छन् कि भन्ने डर भइरहेका बेला सुखद् संयोगका रुपमा प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ हस्तान्तरण गर्न पाउनु आफ्नो लागि ठूलो गर्वको विषय भएको बताउनुभयो ।
उहाँले आफू सरकार बाहिर बसेर जनता र सरकारबीचको पुलको काम गर्न तयार रहेको बताउनुभयो । डा भट्टराईले गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत पाउने बलियो सम्भावना रहेकाले गोरखालाई विकास समृद्धिको मोडल जिल्लाको रुपमा विकास गर्न समस्या नहुनेमा जोड दिनुभयो ।






