संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : प्रधानमन्त्री

  कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”

संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उहाँले बताउनुभयो । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भन्नुभयो । उहाँले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उहाँले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उहाँले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भन्नुभयो । साथै उहाँले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।

विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।”

अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उहाँको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडि बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडि बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’’

चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । गठबन्धनका दलहरूबीच आपसमा एकताबद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया