गठबन्धनले जितेर सरकार बन्यो भने अवसरै अवसर हुन्छ : अध्यक्ष दाहाल

  कार्तिक ०५, २०७९

काठमाडौं, कात्तिक ५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

यसका साथै उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकालाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका छन् । उनले भनेका छन्, ‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ ।’

अध्यक्ष दाहालले फेरि भने, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के ।’

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्टहरु पनि खुशी हुने बताउँदै उनले भनेका छन्, ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन् ।’

त्यस्तै अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या नरहेको पनि बताए ।

तपाईको प्रतिक्रिया