बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

  कार्तिक ०२, २०७९

बझाङ, कात्तिक २ : बझाङको मस्टा गाउँपालिका- १ चिउरी नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

बझाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये चार जनाको सनाखत भएको छ ।

मष्टा गाउँपालिका– २ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का,  २८ वर्षीया वसन्ती धामी र ११ वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

भिरालो क्षेत्रमा दुर्घटना भएकाले उद्धारमासमेत कठिनाइ भएको उहाँको भनाइ छ। घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा पठाएका छन् । दुर्घटनामा १३ जना घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलबाट केही जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याइएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल भिरमा अड्किएको छ ।

तपाईको प्रतिक्रिया