मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

  कार्तिक ०२, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक २ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गर्नुभएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सेनाको ज्यान गएको थियो ।

त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उहाँले मङ्गलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटेका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराध अन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडा भन्दा कडा कारबाही गरेर उनीहरुलाई कानुनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

महासचिव गुटरेसले संयुक्त राष्ट्रसङ्घ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिनुभएको छ ।

यसअघि नै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसङ्घीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

परिषद्का सदस्य राष्ट्रले मालीको सङ्क्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाईप्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।

शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया