काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा आफन्त र टोलवासी चुनावी मैदानमा

  असोज २६, २०७९

कीर्तिपुर, असोज २६ : काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिटमा रोचक उम्मेदवारी परेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई पनि रोचक बनाउने अपेक्षा स्थानीय मतदाताको छ । प्रतिनिधिसभामा निवर्तमान सांसद एवं पूर्वमन्त्री तथा यसअघि दुई पटक निर्वाचन जितेका राजेन्द्रकुमार केसी नेपाली कांग्रेसबाट उम्मेदवार छन् भने उनकै टोलवासी हिमेश केसी निर्वतमान संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को टिकटमा चुनाव लड्दै छन् ।

कीर्तिपुर नगरपालिका–६ चोभारस्थित कार्की गाउँका ६४ वर्षीय अनुभवी राजनीतिज्ञ र सोही स्थानका ३९ वर्षीय युवा हिमेशको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश २ मा सत्ता गठबन्धनको एकीकृत समाजवादीबाट रमाआलेमगर उम्मेदवार हुनुहुन्छ भने प्रमुख प्रतिपक्षी एमालेका तर्फबाट उहाँकै काका रामशरण आलेमगर प्रतिस्पर्धामा हुनुहुन्छ । एउटै दलको राजनीतिक पृष्ठभूमि रहेका काकाभतिजी एमालेमा आएको विभाजनसँगै फरक धारमा हुनुहुन्छ ।

एउटै नाम भएका दुई जनाबीच पनि क्षेत्र नं १० मा प्रतिस्पर्धा हुने भएको छ । चन्द्रागिरि नगरपालिका–१० स्थिति गछे टोलका सूर्यबहादुर महर्जनले राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट प्रदेशसभा क्षेत्र नं २ का लागि उम्मेदवार हुनुहुन्छ भने सोही वडाको कुछे टोलका सूर्यबहादुर महर्जनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रतिनिधिसभातर्फ एक जना र त्यसभित्रका प्रदेशसभाको क्षेत्र नं १ तर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार क्षेत्र नं १० का लागि उम्मेदवारी दिएका जनता समाजवादी नेपालका सङ्गम नेपालले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का लागि उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका पञ्चलाल महर्जन र स्वतन्त्र उम्मेदवारी दिएका प्रमोदकुमार बस्नेतले आआफ्नो नाम फिर्ता लिनुभएको छ ।

नामावली फिर्ताको समयसीमा सकिएपछि निर्वाचन आयोगले जारी गरेको अन्तिम सूचीअनुसार क्षेत्र नं १० को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल १८ जना उम्मेदवार कायम भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नौ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा १२ जना उम्मेदवार कायम भएका छन् ।

तपाईको प्रतिक्रिया