कैलालीको भजनीमा डुबान : २०२ घर परिवार विस्थापित

  असोज २१, २०७९

धनगढी, असोज २१ : कैलालीको भजनी नगरपालिकामा करिब २०२ घरधुरी डुबानमा परेको छ । काँढा र कान्द्रा नदीमा आएको बाढीले डुबान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँढा नदीको बाढी गाउँमा पस्दा भजनी नगरपालिका –२ मोहनपुर, पल्टुपुर र तीनघरुवाका अन्दाजी १२५ घर डुबानमा परेको छ । घरमा पानी पसेपछि पल्टुपुरका ४० परिवारका अन्दाजी ९५ जना व्यक्ति राष्ट्रिय माविमा स्थानान्तरण भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

यस्तै, भजनी नगरपालिका –९ शिविर टोलका करिब ४० घरमा कान्द्रा नदीको पानी पसेको छ । यस्तै, वडा नम्बर ८ को खल्ला र पाण्डेय टोलका ३७ घरधुरीमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अविरल वर्षाका कारण नदीहरुमा पानीको सतह बढे पनि खतराको तह भने अझै पार गरिनसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया