लण्डन, असोज १९ : युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच “प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको” मस्कोले चेतावनी दिएको छ ।
अमेरिका अहिलेको “द्वन्द्वको एउटा पक्ष” भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि “सीधा खतरा” भएको बताए ।
अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ। अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ ।
पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ ।
बिहीवार एउटा वक्तव्यमार्फत् रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन “द्वन्द्वको एउटा पक्ष” हुने चेतावनी दिएका हुन् ।
त्यसले अहिलेको “रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने” उनले दाबी गरे ।
“एकदमै गम्भीर परिणाम निम्त्याउन सक्ने उक्साहटपूर्ण कामहरू बन्द गर्न हामी वाशिङ्गटनलाई आग्रह गर्छौँ,” रुसी रादजूतले भने ।
पछिल्ला हप्ताहरूमा युद्ध मैदानमा युक्रेनसँग ठूलो पराजय बेहोरिरहेको रुसले उपलब्ध सबै माध्यमबाट प्रतिरक्षा गर्ने बताएको छ ।
सो क्रममा उसले परमाणुअस्त्रको प्रयोगको सम्भावनालाई पनि नकारेको छैन ।
मस्कोले युक्रेनका चार क्षेत्र- डोनेट्स्क, लुहान्स्क, खेअरसन र ज्यापोरिज्यालाई रुसमा गाभ्ने प्रयासलाई बल दिइरहेको छ ।
यद्यपि उसले अहिलेसम्म कुनै क्षेत्रमाथि पूर्ण रूपमा नियन्त्रण गरिसकेको छैन र पछिल्ला दिनमा युक्रेनी फौजहरूले खेअरसन क्षेत्रमा प्रगति हासिल गरिरहेका छन् ।






