ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी

  असोज १८, २०७९

भोजपुर, असोज १८ : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उहाँले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थाल्नुभएका उहाँले एक हजार पाँच सय पिलरमा ड्रागन लगाउनुभएको छ । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सण् ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिनुभयो । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहनुभएको छ । फलफूल खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताउनुभयो ।

“फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु”, उहाँले भन्नुभयो, “वर्षमा रु बाह्र लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।” कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाउनुभएको छ । ड्रागन फल रातो प्रतिकेजी रु पाँच सय र सेतो प्रतिकेजी रु चार सयमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी रु एक सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

“मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छु”, कृषक नेपालले भन्नुभयो”, बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।” नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थाल्नुभएको हो । जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती थाल्नुभएका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाउनुभयो । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।” आफैँले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उहाँको भनाइ छ ।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उहाँको भनाइ छ ।

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उहाँको भनाइ छ । कृषक नेपालले भन्नुभयो, “मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।” गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उहाँको भनाइ छ ।

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।

यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । फलको स्वादमा गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त हुने कृषकको भनाइ छ ।

तपाईको प्रतिक्रिया